जनकपुरधाम– प्रदेश २ को नामका लागि नेपाली कांग्रेसले ‘मिथिला भोजपुरा’ प्रस्ताव दर्ता गराएको छ।
आज बिहीबार कांग्रेसले प्रदेशको नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएको प्रदेशसभाका सचिव रञ्जित कुमार यादवले जानकारी दिए।
कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले प्रदेशको नाम ‘मिथिला भोजपुरा’ हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन्। चौधरीले दर्ता गराएको प्रस्तावलाई प्रदेशसभा सदस्य मन्जु कुमारी र प्रमिला देवी दासले समर्थन गरेका छन्।
त्यस्तै राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै पार्टीका प्रमुख सचेतक उपेन्द्र प्रसाद कुशवाहाले प्रस्ताव दर्ता गराएका छन्। उनको समर्थन प्रदेशसभा सदस्य नरेश कुमार यादव र विरेन्द्र प्रसाद सिंहले गरेका छन्।
कांग्रेसले यसअघि पनि प्रदेशको नाम मिथिला भोजपुरा र राजधानी जनकपुरधाम बनाउन प्रस्ताव दर्ता गराएको थियो।
त्यस्तै प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले छुट्टाछुट्टै प्रदेशको नाम मधेश प्रदेश प्रस्ताव दर्ता गराइसकेका छन्। नेकपा एमालेले भने प्रदेशको नाम जानकी दर्ता गराएको छ।
प्रदेशको राजधानी भने सत्तारुढ दल जसपा, नेकपा एमाले, नेकपा माओवादी र कांग्रेसले जनकपुरधाम नै प्रस्ताव गरेका छन्।
पछिल्लो पटक समेत सबै दलले राजधानी जनकपुरधाममा समर्थन जनाए पनि निर्वाचनमा भने दुईतिहाइ मत जनकपुरधामको पक्षमा पर्न सकेको थिएन।
प्रदेशसभामा १०७ सांसद छन्, जसमा माओवादी केन्द्रले आफ्ना चार जना सांसदलाई पदमुक्त गरिसकेको छ। हाल सत्तारूढ दल जसपासँग ५६, नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९ र माओवादी केन्द्रसँग ७ जना सांसद छन्।
प्रदेशको राजधानी र नाम पारित गर्नको लागि दुई तिहाइको आवश्यकता रहे पनि कुनै पार्टीसँग दुई तिहाइ छैन। प्रदेशसभा सचिवालयले आज अपरान्ह ३ बजेसम्म प्रदेशको राजधानी र नामको लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ।