काठमाडौं– नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले स्पष्टीकरणका नाममा आफूलाई झुटो र मर्यादाहीन आरोप लगाएको बताएका छन्।
अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जबाफ दिँदै नेपालले भनेका छन्, ‘तपाईंले स्पष्टीकरणका नाममा प्रयोग गर्नुभएका शब्द, वाक्य र आरोपहरु कति झुटा, मर्यादाहीन, उद्दण्ड र उत्तेजक थिए, त्यसको हेक्का राख्नुभएको भए मैले त्यस्ता अनुचित कुराहरुको जबाफ दिएकोलाई स्वाभाविक ठान्नुहुन्थ्यो होला। तर तपाईंमा रहेको दम्भ र संकीर्ण गुटगत चिन्तनले तपाईंलाई त्यसो गर्न दिँदैन भन्ने कुरा बुझ्न सकिन्छ।’
आफूले पार्टी विधानको कुनै पनि धाराको व्यवस्था विपरीत कुनै काम नगरेको र पार्टीको सिद्धान्त, नीति र कार्यक्रम तथा विधानको व्यवस्थाको प्रतिरक्षाका लागि पार्टी गतिविधिमा सहभागी रहेको स्वतः स्पष्ट हुने नेपालले बताएका छन्।
ओलीले ६ वैशाखको मिति राखेर भोलिपल्ट ७ गते इमेल र भाइबरमार्फत वरिष्ठ नेता नेपाललाई स्पष्टीकरण सोधेका थिए। नेपालसहित २० जना नेतालाई स्पष्टीकरण सोधिएको थियो।



