काठमाडौं– नेकपा एमाले एकता लागि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित १५ नेताल संयुक्त रुपमा अपिल जारी गरेका छन्। नेकपा स्थापना दिवसका अवसरमा नेताहरूले यस्तो अपिल गरेका हुन्। उनीहरुले पार्टीमा संकट उत्पन्न हुनुमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली नै जिम्मेवार रहेको ठहर गरेका छन्।
उनीहरूले एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिने स्पष्ट पारेका छन्। अपिलमा भनिएको छ, ‘यही अठोटका साथ ७२ वर्षको मिहेनतले निर्माण भएको कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्न सबैले आआफ्नो ठाउँबाट प्रयास गरौं।’
अपिलमा ओलीका गलत क्रियाकलापले पार्टीको विधान, परम्परा, सामान्य लोकतान्त्रिक मूल्यहरूको समेत धज्जी उडाएको आरोप लगाइएको छ। अपिलमा भनिएको छ, ‘सयौँ सहिद, लाखौँ पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरूको भावनामाथि खेलबाड गरेको छ।’
अपिल जारी गर्नेमा नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य छन्।
यस्तै भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई र मुकुन्द न्यौपानेले पनि अपिलमा हस्ताक्षर गरेका छन्।
संयुक्त अपिल जारी गर्ने अन्य नेतामा सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल छन्।