आइतबार, असोज ११, २०८३

इन्धनको अनलाइन कारोबार आईओसीसँग सिधै जोड्ने योजना

इन्धनको अनलाइन कारोबारलाई सिधै भारतसँग जोड्ने योजना नेपाल आयल निगमले बनाएको छ। 
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं– इन्धनको अनलाइन कारोबारलाई सिधै भारतसँग जोड्ने योजना नेपाल आयल निगमले बनाएको छ। 

निगमका एआरपी परियोजना प्रमुख राजन नेपालका अनुसार व्यवसायीहरुका लागि अनलाइन माध्यमबाटै इन्धनको कारोबार गर्न सक्ने प्रविधिलाई भारतीय आयल कर्पोरेसन (आईओसी) सँग जोड्न छलफल भइरहेको छ।

‘यही आर्थिक वर्षभित्रमा निगमको सिस्टम र भारतीय आयल कर्पोरेसनको सिस्टमलाई यसै प्रविधिमार्फत सिधै जोड्दैछौं,’ नेपालले भने, ‘त्यसले अनलाइनमार्फत गरिएको कारोबारको जानकारी समेत इण्डियन आयललाई गराउन सजिलो हुन्छ।’ यसलाई बिजनेस टु बिजनेस इन्टिग्रेसन भनिन्छ। 

आईओसीसँग जोडिएपछि इन्धन आयातका लागि जारी गरिने प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) पनि भारतीय आयल निगमले अनलाइनबाटै थाहा पाउने छ। सोही आधारमा आईओसीले नेपाली व्यवसायीका ट्यांकरमा लोड दिनेछन्। यसअघि इन्धन आयातका लागि नेपाल आयल निगमले जारी गरेको पीडीओ व्यवसायीले आईओसीलाई बुझाउने प्रचलन छ।

इन्धनको अनलाइन कारोबारका लागि २३ करोडको परियोजना

अनलाइनमार्फत पीडीओ कार्यान्वयनमा आएपछि आईओसीले  लोड दिएर बिजक जारी गर्दा तत्काल नेपाल आयल निगमलाई पनि थाहा हुने परियोजना प्रमुख नेपाल बताउँछन्। ‘बिजक जारी गर्दाखेरी नै हाम्रो अनलाइनमै सबै बिजकका विवरणहरु आउँछन्। इन्धनको विवरणसहित कति वटा गाडी लोड भएसम्मका विवरण हामीले चाँडै अनलाइनबाटै थाहा पाउँछौं र रियल टाइममा मनिटर गर्न पनि सजिलो हुन्छ,’ उनले भने।

निगमले यही वैशाख ३ गतेदेखि नेपाली पेट्रोलियम व्यवसायीका लागि अनलाइन कारोबार प्रणालीको सुरुवात गरेको हो। निगमले अनलाइन पोर्टल बनाएर त्यसमा व्यवसायीको विवरण दर्ता गरेर अनलाइन कारोबार गर्न सक्ने बताएको छ।

अनलाइन प्रणाली आईओसीसँग जोडेपछि इन्धनको मूल्य विश्लेषण गर्न समेत सजिलो हुने र सोही आधारमा आवश्यक निर्णय सजिलो हुने विश्वास निगमले लिएको छ।

सोही अनलाइन पोर्टलमार्फत निगमले एयरकाष्ट डेलिभरी रिजिड (एडीआर) पनि सञ्चालन गर्ने योजना बनाएको छ। एडीआर कार्यान्वयनमा आएपछि हवाईजहाजमा तेल हालिसकेपछि हातले लेखेर दिइने एडीआर (डेलभरी नोट्स) अनलाइनमार्फत नै दिइने छ।
 

प्रकाशित: Apr 22, 2021| 07:18 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्