शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपराधको बदलिँदो ट्रेन्ड :  हत्याका एक तिहाइ घटना आफन्तबाटै 

अपराधको बदलिँदो ट्रेन्ड :  हत्याका एक तिहाइ घटना आफन्तबाटै 

घटना र तथ्यांकले आफ्न्तबाटै व्यक्तिहरु असुरक्षित हुँदै गएको देखाएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर बताउँछन्। उनी भन्छन्, '३१ प्रतिशत हत्या आफन्तबाट हुने गरेको छ।' 
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

घटना १
स्थान : काठमाडौं, थापागाउँ । मिति : २०७८ वैशाख ४ गते 

साँझ सवा ७ बजे हुरी चलिरहेका बेला मानिस झ्यालढोका लगाएर घरभित्रै बसेका थिए। ४८ वर्षीया रोशनी राजभण्डारी तरकारी र दूध किनेर घर फर्किंदै थिइन्। घरबाट करिब २०/२५ पाइला वर रहेकी रोशनीमाथि आफ्नै देवर मोहन राजभण्डारीले पछाडिबाट रड प्रहार गरे। चिच्याउँदै छिमेकीको घरमा शरण माग्न पुगेकी उनीमाथि ४८ वर्षीय मोहनले लखेटी लखेटी घरभित्रै छिरेर रडले हानेर हत्या गरे। 

घटना २
स्थान :  गुल्मी, भाडगाउँ। मिति : २०७७ माघ २९ गते 

२१ वर्षीया सम्झना बोहरा खत्रीको हत्या भयो । प्रहरीले अनुसन्धानपछि उनकै सासू र कान्छा ससुरा पर्ने छिमेकी मिलेर हत्या गरेको निष्कर्ष निकाल्यो। कान्छा ससुरा लालबहादुर खत्रीले सम्झनाकै सासू अर्थात् नातामा भाउजू पर्ने तोमकलीसँग मिलेर हत्या गरेको स्वीकार गरेका थिए। 

घटना ३
स्थान :  भक्तपुर, मध्यपुर थिमी। मिति :  २०७७ भदौ २५ गते 

मध्यपुर थिमी नगरपालिका–६ कुन्डोलस्थित घरभित्र ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया पत्नी सम्झना र १५ वर्षीय छोरा सुशान्त मृत अवस्थामा भेटिए। प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टअनुसाार उक्त घटना मृतक सुदीप आफैंले गराएका थिए। सुदीपले राति पत्नी सम्झना र छोरा सुशान्तको हत्या गरेर आफूले बिहानीपख सल्फस नामक विष सेवन गरेर आत्महत्या गरेको रिपोर्टले देखाएको थियो।

घटना ४
स्थान : भक्तपुर, चाँगुनारायण।  मिति : २०७७ असार १६ गते 

चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया सावित्री भट्टराईको हत्या उनकै छोरीले प्रेमीसँग मिलेर गरिन्। आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण छोरीले प्रेमीसँग मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। 

घटना ५ 
स्थान :   मकवानपुर, हेटौंडा। मिति : २०७७ असार १ गते 

हेटौंडा उपमहानगरपालिका–४ की सुस्मिता थापाको शव असार १ गते भान्सा कोठामै भेटियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुस्मिताका ससुरा, सासू र नन्दमिलेर बुहारीको हत्या गरेका थिए। 

मृतक सुस्मिताको ससुरा प्रकाश थापाले जबरजस्ती करणी प्रयास गरेका थिए। सुस्मिताका पति र उनका नाममा आउने बिमा रकमको कारण हत्या भएको प्रहरीले निष्कर्ष निकालेको थियो। 

.......
यी त विगत एक वर्षका केही प्रतिनिधि घटना मात्रै हुन्। नेपालमा यस्ता सयौं घटना छन् जहाँ आफ्नै मान्छेले आफन्तको हत्या गरेका छन्। प्रहरीको तथ्यांकअनुसार नेपालमा करिब एक तिहाइ व्यक्तिको हत्या आफन्तबाटै भएको छ। 

पछिल्लो ५ वर्ष ८ महिनामा ३ हजार ५ सय ६ जनाको हत्या भएको छ। तीमध्ये १ हजारभन्दा धेरै व्यक्ति आफन्तबाटै मारिएका छन्। 

सासू, ससुरा र नन्द मिलेर हत्या गरिएकी हेटौंडा उपमहानगरपालिका–४ की सुस्मिता थापा।

घटना र तथ्यांकले आफ्न्तबाटै व्यक्तिहरु असुरक्षित हुँदै गएको देखाएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर बताउँछन्। उनी भन्छन्, '३१ प्रतिशत हत्या आफन्तबाट हुने गरेको छ।' 

परिवार र नातेदारबाटै हत्याका घटना बढ्नुको पछाडि आर्थिक, सामाजिक तथा मनोसामाजिक कारण छन्। ‘हत्याको पछाडि सम्पत्तिको विवाद, घरायसी किचलो, यौनजस्ता कारण जोडिने गरेको छ’, प्रहरी प्रवक्ता कुँवरले भने।

पछिल्लो समय पतिले पत्नीको र पत्नीले पनि पत्नीको हत्या गर्ने क्रम बढ्दै गएको उनले बताए। उनले भने, ‘दुई जनाबीच एकआपसमा विश्वास गुम्दै जाँदा, अर्थ र यौनमा समस्या देखिँदा पतिपत्नीको विवाद हत्याको अवस्था पुग्ने गरेको छ।’ 

पूर्वडीआईजी केशव अधिकारीका अनुसार व्यक्ति हत्याका मुख्य दुई कारण छन्– अर्थ र यौन। परिवारिक हत्या पनि यही दुई कारणले हुने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘नेपालमा पछिल्लो समय अभिभावकीय निगरानीको कमीका कारण सामाजिक मर्यादा र अनुशासन हराउँदै गएको छ। यही कारण परिवारभित्रैका सदस्य मार्ने क्रम बढेको छ।’ 

सासू र कान्छो ससुराबाट मारिएकी गुल्मी भाडगाउँकी सम्झना बोहरा खत्री।

सामाजिक सञ्जालकाे गलत प्रयाेगका कारण पनि आपराधिक घटना बढ्दै गएको पूर्व डीआईजी अधिकारीको ठहर छ। डिजिटल प्लेटफर्ममा सरकारी निगरानी पुग्न नसक्दा पारिवारिक विचलन बढ्दै गएको र यही कारण हत्याका घटना हुने गरेको उनी बताउँछन्।

मनोविद् पनि पारिवारिक संरचना र सम्बन्ध कमजोर बन्दै गएका कारण परिवारिक अपराध बढ्दै गएको आँकलन गर्छन्। 

मनोविद् रितेश थापा भन्छन्, ‘पहिलेपहिले व्यक्तिबीचको सम्बन्ध बलियो हुन्थ्यो। एक सदस्य अर्कोका लागि भरोसायोग्य हुन्थे। अहिले व्यक्तिवाद बढेको छ। म नै खुसी हुनुपर्छ। मैले नै प्राप्ति गर्नुपर्छ भन्ने भाव बढेको छ। यस कारण पनि समस्या बढेको छ।’

उनको बुझाइमा अचेल सम्बन्ध गहिराइमा जान छाडेका छन्। उनी भन्छन्, ‘पतिपत्नीमा पनि आत्मीयता कमजोर हुन थालेको छ भने छोराछोरीमा बाबुआमाप्रतिको श्रद्धा कमजोर भएको छ।’ आफूले भनेजस्तै नहुँदा परिवारमा झगडा गर्ने आपराधिक घटनासम्म हुने गरेको उनी बताउँछन्। 

देवरद्वारा मारिएकी काठमाडौं, थापागाउँकी रोशनी राजभण्डारी।

थापाका अनुसार कुनै अनुसन्धान नभए पनि नेपालीमा पछिल्लो केही वर्षयता सहनशिलता घट्दै गएको छ। आक्रोश बढ्दै गएको छ। उनी भन्छन्, ‘त्यही कारण पनि साना साना कुरामा परिवारमा झगडा हुने र विग्रह आउने समस्या बढ्दै गएको छ। त्यसले मानिसमा मानसिक समस्यासमेत बढाउँदै लगेको छ।’

पछिल्लो ३ वर्ष ८ महिनामा कहाँ कतिको हत्या ?

प्रदेश २०७४/०७५ २०७५/०७६ २०७६/०७७ २०७७/०७८ (फागुनसम्म)
प्रदेश १ ११० १२९ ११३ ९३
प्रदेश २ ११२ १३७ १११ ७४
बागमती (उपत्यकाबाहेक) ८२ ६० ८१ ४५
उपत्यका ५३ ६० ३५ ३२
गण्डकी ५५ ५८ ४३ ३७
लुम्बिनी ११३ १२० ९३ ८०
कर्णाली ४५ ४७ २७ ३४
सुदूरपश्चिम ४७ ४८ ५२ ५३
जम्मा ६२८ ६५९ ५५५ ४४८

स्राेत : नेपाल प्रहरी
 

प्रकाशित: Apr 22, 2021| 07:42 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।