काठमाडौं- सत्तारुढ दल नेकपा (एमाले) भित्र विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको छ।
बुधबार साँझ नागपोखरीस्थित होटल मेरियटमा अर्थमन्त्री विष्णु पौडेलसहितको वार्ता जारी छ। वार्ता पौने ६ बजेदेखि सुरु भएको नेपाल पक्षका एक नेताले जानकारी दिए। पार्टीमा देखिएका पछिल्ला विवादहरूका विषयमा वार्तामा छलफल हुने बताइएको छ।
विधानविपरीत ओलीले पार्टी कब्जा गरेको आरोप नेपाल पक्षले लगाउँदै आएको छ। नेपाल पक्षमाथि भने पार्टी विभाजन गर्ने उद्देश्यले काम गर्न थालेको आरोप ओली पक्षले लगाउँदै आएको छ।
बुधबार मात्र ओलीले फागुन २८ पछि गरेका सबै काम खारेज गर्न माग गर्दै नेपाल पक्ष सर्वोच्च पुगेको थियो। तर उसले दायर गरेको रिट भने दर्ता भएको छैन।
बुधबार दिउँसो नेपाल पक्षका नेता योगेश भट्टराईले ओलीसँग भेट गरी वार्ताबाट अघि बढ्न सुझाव दिएका थिए। लामो समयको रस्साकस्सीपछि भएको ओली र नेपालबीचको वार्तालाई महत्वका साथ हेरिएको छ।