काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि जम्मा १० प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार प्रतिनिधिसभाको अर्थ समिति बैठकमा मन्त्रालयले जम्मा १०.८९२ प्रतिशत मात्र पुँजीगत खर्च गरेको विवरण बुझाएको हो।
मन्त्रालयका अनुसार सो डाटा एलएमबीएसमा समावेश भएको तथ्यांक हो। मन्त्रालयले चालु आर्थिक वर्षको लागि जम्मा १ अर्ब ८४ करोड ४१ लाख रुपैयाँ पुँजीगत खर्च छुट्याएको थियो।
अर्थ समितिको बैठकमा बोल्ने अधिकांश मन्त्रालयले कम पुँजीगत खर्चको कारण माग गरेका थिए। जवाफमा मन्त्रालयका सचिव हरीप्रसाद बस्यालले पछिल्लो समयमा खर्च भइरहेपनि भुक्तानीमा ढिलाई हुँदा खर्च कम देखिएको बताए।
‘ कतिपय कार्यक्रमहरुको काम भइरहेको छ। तर हामीले उनीहरूको कामको भुक्तानी नदिएसम्म खर्च लेख्दैनौँ,’ उनले भने, ‘जसका कारण पुँजीगत खर्च जम्मा १० प्रतिशत मात्र भएको देखिएको हो। तर आर्थिक वर्षको अन्तिमसम्म ८० प्रतिशत खर्च हुन्छ।’
मन्त्रालयले चालु आर्थिक वर्षमा चालु खर्च तर्फ ६० प्रतिशत मात्र खर्च गरेको छ। चालु आर्थिक वर्षको लागि मन्त्रालयको बजेट ५ अर्ब २९ करोड ६९ लाख रुपैयाँ रहेको छ।
मन्त्रालयले कुल वित्तीय प्रगतितर्फ ४८.५ कु्ल भौतिक प्रगतितर्फ ७२.४५ प्रतिशत रकम खर्च भएको विवरण अर्थ समितिमा बुझाएको छ।