काठमाडौं- सडक जीवन बिताइरहेका सहयोगापेक्षीलाई उचित बसोबासका लागि मानवसेवा आश्रमले विराटनगर-५ मा तीन भवन निर्माण गर्ने भएको छ। एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ बुधबार भवनको शिलान्यास गरिएको हो।
कविर सेवा आश्रमले मानवआश्रममा सहयोगापेक्षीलाई व्यवस्थित बसोबास गर्नका लागि उपलब्ध गराएको ६ कठ्ठा जग्गामा भवन निर्माण गर्न लागिएको हो। २२ करोडका लागतमा ५५ कोठा हुने गरी निर्माण गरिने भवनको नाम बालगोपाल, लक्ष्मी र नारायण राखिने छ।
पूर्व मिस नेपाल शृङ्खला खतिवडा संलग्न रहेको गाथा डिजाइन समूहले २७ हजार वर्गफिट रहने गरी भवनको नक्सा निर्माण गरेको छ। प्रदेश १ सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, मोरङ र सुनसरीका उद्योगपति, व्यापारी र नागरिक समाजले उक्त भवन निर्माणका लागि आवश्यक पर्ने रकम व्यवस्था गर्नेछन्।
महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीलगायत विभिन्न उद्योगपति, नागरिक समाजलगायतले व्यक्तिगत रुपमा एकएक कोठाका लागि एक करोड ७४ लाख सहयोग गरी ३४ कोठा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
महानगरका प्रमुख पराजुली र उपप्रमुख इन्दिरा कार्की, कविर आश्रमका जग्गादाता सुशीला खड्का, मानवसेवा आश्रमका संयोजक रामजी अधिकारीलगायतले संयुक्त रुपमा भवनको ६ स्थानमा शिलान्यास गरेका हुन्।
कार्यक्रममा महानगर प्रमुख पराजुलीले सहयोगापेक्षीको बाँकी जीवन सुखमय बनाउन आश्रम निर्माणले सहयोग पुर्याएको धारणा राखेका थिए। सामाजिक विकास मन्त्रालय सचिव गोविन्दबहादुर कार्की, कलाकार दीपाश्री निरौला, मनोज गजुरेल, आनीछोइङ डोल्मा, पूर्वप्रहरी अधिकृत रमेश खरेललगायतले सडकमा खाना, छाना र नानाविना जीवनयापन गरिरहेका सहयोगापेक्षीलाई सम्मानपूर्वक बसोबासको व्यवस्था गर्न लागिएमा खुशी व्यक्त गरेका थिए। -रासस