काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा पेसी तोकिए पनि आज सुनुवाइ हुन सकेन।
उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीशसहित रहेको बेन्चमा आज बुधबारका लागि पेसी तोकिएको थियो।
नियमित पेसी चढे पनि अन्य धेरै मुद्दा तीभन्दा माथि रहेकाले उनको मुद्दाको सुनुवाइ आज हुन नसकेको हो।
०७६ फागुन ३० गते मुद्दाको पहिलो पेसी चढाइएको थियो। तर, हेर्न नभ्याइएपछि सुनुवाइ सारिएको थियो।
काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सभामुख सापकोटामाथि लागेको छ। ०६२ वैशाख १६ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए।
साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन्। उनको जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। २०६४ फागुन २२ मा सर्वोच्च अदालतले आदेश दिएपछि जाहेरी दर्ता भएको थियो।
सापकोटाविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय भएपछि पुनः पूर्णिमाया सर्वोच्च अदालत गएकी थिइन्। यो मुद्दा लामो समयदेखि संवैधानिक इजलासमै विचाराधीन छ। सभामुख सापकोटा भने उक्त मुद्दा द्वन्द्वकालको भएकाले यसलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत हेर्नुपर्ने बताउँदै आएका छन्।