काठमाडौं– नेपाल राष्ट्र बैंकले ग्राहकका गुनासा सुन्न छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
राष्ट्र बैंकले वित्तीय ग्राहकलाई सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैरजिम्मेवार, लापरबाही, गलत सूचना सम्प्रेषण, अपारदर्शी कारोबार जस्ता नकारात्मक व्यवहार न्यूनीकरण गर्न गुनासो अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो।
गुनासो गर्न गुनासो डट एनआरबी डट ओरजी डट एनपी नामक पोर्टलमा लगइन गर्नुपर्नेछ। अनलाइन पोर्टलमा गएर गुनासो दर्ता गर्न सकिन्छ। दर्ता भएको जानकारी र दर्ता नम्बर इमेलमार्फत जानकारी गराइनेछ।
सेवा प्रदायकले आफूले प्रदान गर्ने सेवा सम्बन्धमा न्यूनतम मापदण्ड पूरा गरी ग्राहकलाई निष्पक्ष र समान वित्तीय मध्यस्थता सेवा प्रदान तथा प्राप्त गराउन प्रोत्साहित गर्ने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
पेस गरिएको गुनासोको स्थिति दर्ता नम्बरमार्फत जानकारी पाउने र गुनासोको अन्तिम निर्णयसमेत इमेलमार्फत प्राप्त हुनेछ।