मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'विगतको बजेटसँग यस वर्षको बजेट तुलना गर्दा झुक्किइन्छ'

'विगतको बजेटसँग यस वर्षको बजेट तुलना गर्दा झुक्किइन्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले यस वर्षको बजेट संघीयताको वित्तीय प्रणालीअनुसार ल्याएको भन्दै विगतका वर्षको बजेटसँग तुलना गर्दा झुक्किइने बताए ।

प्रतिनिधिसभाका सांसदले आइतबारको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले संघीयता कार्यान्वयन ७६१ वटा सरकारको कुरा गरिरहेका बेलामा राजश्वको बाँडफाँट पनि सोहीअनुसार बजेट प्रस्तुत गरेको बताएका हुन् । अर्थमन्त्रीले भने, 'अनुदानसहितको पहिलो बजेट ल्याएका छौँ । पहिलेका एकल बजेटसँग तुलना गर्नु हुँदैन ।' 

'सबै तहको बजेट जोड्दा रु १५ खर्बको बजेट हुने र विकास खर्च रु पाँच खर्बको भई अनिमात्र मुलुकभरको बजेट हुन्छ । विगतको आर्थिक वर्षको बजेट अंकमा हेर्दा त्यसले झुक्याउने भएकाले संघीयताको वित्तीय प्रणालीअनुसार बजेटलाई हेर्नुपर्छ,' उनले भने । 

अर्थमन्त्री खतिवडाले जनताको न्यूनतम आवश्यकता पूरा गर्दै समृद्धिको प्रस्थान बिन्दुकारुपमा आर्थिक वर्ष २०७५-७६ को बजेट तयार पारिएको बताए । खतिवडाले भने, 'बजेट राष्ट्रिय अर्थतन्त्र निर्माणको पक्षमा छ, यो समृद्धिबाट समाजवादतर्फ उन्मुख छ ।'

सर्वाङ्गीण विकासमा बजेटले ध्यान दिएको बताउँदै उनले नागरिकलाई उत्पादनसँग जोड्न बजेटले पहल गरेको बताए । अर्थमन्त्री डा खतिवडाले सामाजिक सुरक्षाका लागि सरकारले जिम्मा लिने बताए । 

सरकारले मर्यादित कामलाई सम्मान गर्ने दर्शनसहित बजेट निर्माण गरेको दाबी गर्दै अर्थमन्त्री डा खतिवडाले रोजगारी र श्रमलाई सम्मान गरेर मुलुकभित्रकै स्रोतमा आधारित गरेर बजेट तयार गरिएको बताए । 

संघीयता ठूलो भएकाले त्यसलाई गति दिन कर वृद्धि गर्नुपरेको भन्दै उनले  भने, 'संघीयता खर्चिलो छ, त्यसलाई धान्नुपर्छ, सोहीअनुसार बजेट विनियोजन भएको छ ।'

बजेट अली बढी क्रियाशील भएकाले बढी प्रतिक्रिया आएको हो कि भन्ने आफूलाई लागेको बताउँदै अर्थमन्त्री डा खतिवडाले भने, “क्रिया र प्रतिक्रियालाई धेरै अगाडि नबढाऔँ, आरोप र प्रत्यारोपलाई यहीँ बन्द गर्नुपर्छ ।' 

प्रतिपक्षले बजेट महत्वाकांक्षी एवं यथार्थपरक नभएको टिप्पणीको प्रतिवाद गर्दै अर्थमन्त्री डा खतिवडाले भने, 'बजेट ठूलो बनाऊ, राजश्व नउठाउ र विदेशी ऋण पनि नलिऔँ भन्नु गलत हुन्छ । बजेट अंकगणित पनि हो, त्यसको विधि र सीमा हुन्छ ।' 

संघ, प्रदेश र स्थानीयले परिपूरक भूमिकामा काम गर्नुपर्नेमा जोड दिँदै उनले बजेटमार्फत प्रगतिशील कर प्रणाली अपनाएकोप्रति गर्व गर्नुपर्ने बताए । अर्थमन्त्री डा खतिवडाले विदेशी मुलुकमा आयकरमा ५० प्रतिशतभन्दा बढी हुने दृष्टान्त पेश गर्दै भने, 'युरोपमा ४० प्रतिशत छन् । त्यहाँका नीजि क्षेत्र पनि काम गरिरहेका छन् । ऋण लिएर मात्र विकास गर्ने होइन, आन्तरिकरुपमै सबल बन्ने हो ।' 

चालु वर्षको बजेट पुनःनिर्माणको बजेट, सम्पत्ति सुद्धीकरण, लगानी बोर्डलगायतको बजेट भएकाले प्रधानमन्त्री कार्यालयमा बजेट धेरै देखिएको स्पष्ट पार्दै अर्थमन्त्री डा खतिवडाले एउटै कुरालाई धेरै पटक भन्दा सत्य हुन्छ भन्ने मान्यता नराख्नुहोस् आग्रह गरे । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्