काठमाडौं- मध्यभोटेकोशी जलविद्युत कम्पनीले प्राथमिक सेयर (आइपीओ) जारी गर्न अनुमति पाएको छ। आइतबार नेपाल धितोपत्र बोर्डले आयोजनालाई आइपीओ जारी गर्नका लागि अनुमति दिएको हो।
कम्पनीले एक अर्ब ५० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनीले चुक्तापुँजीको १० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख रुपैयाँ कित्ता सेयर आयोजना प्रभावित जिल्लाका नागरिकका लागि निष्कासन गर्ने तयारी गरेको हो।
चुक्तापुँजीको १५ प्रतिशत अर्थात् ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले नागरिक लगानी कोषसँग सेयर प्रत्याभूतिका लागि सम्झौता गरिसकेको छ। त्यस्तै सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटल रहेको कम्पनीले जनाएको छ।
यसअघि कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीका लागि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ।
कम्पनीले १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लामा निर्माण गरिरहेको छ।