बुटवल– जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभा संसदीय दलले पार्टी निर्णय विपरीत मन्त्री बनेको भन्दै चार जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
दलका नेता सहसराम यादवले मंगलबार पत्र काटेर २४ घण्टाभित्र उचित स्पष्टीकरण दिन निर्देशनसहितको पत्र काटेका हुन्। प्रमुख सचेतकसमेत रहेका सांसद सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई २४ स्पष्टीकरण सोधिएको हो।
पत्रमा भनिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा दफा २८ को उपदफा १ (क) र २ बमोजिम दलको तर्फबाट ह्विप जारी गरिएको निर्णय तपाईं आफैंलाई थाहा हुँदाहुँदै यसको विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिपरिषद् सदस्यमा शपथ ग्रहण गर्नु गम्भीर ह्विप उल्लंघन हो। तपाईंले दल र दल नेताको निर्देशन (ह्विप) किन उल्लंघन गरेको हो ?’
‘प्रचलित कानुन र संसदीय दलको विधानविपरीत तपाईंहरु अर्को संसदीय दल गठन केको आधारमा गर्नुभयो ? पत्र प्राप्त भएको मितिबाट २४ घण्टाभित्र उचित स्पष्टीकरण दिन निर्देशन गर्दछु,’ दल नेता यादवद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ।
मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिपरिषद्प्रति विश्वास नभएको भन्दै चैत २६ गते बसेको जसपा लुम्बिनीको बैठक र वैशाख ६ गते बसेको संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको पत्रमा उल्लेख छ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको केही घण्टामै जसपाका पाण्डे भौतिक पूर्वाधार विकास मन्त्री, यादव भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री र रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको शपथ लिएका थिए।
