काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टीले अघि सारेका माग पूरा गर्न सकारात्मक देखिएका छन्।
जसपा अध्यक्ष महन्थ ठाकुरसँग मंगलबार बालुवाटारमा भएको छलफलमा ओलीले यस्तो आश्वासन दिएका हुन्।
नेताद्वयको छलफलपछि जसपा नेता लक्ष्मणलाल कर्णले भने, ‘प्रधानमन्त्रीसँग पार्टीले अघि सारेका मागका विषयमा नै छलफल भएको हो।’
उनले सत्ता समीकरणका विषयमा कुराकानी नभएको प्रस्ट पारे। जसपाले थुनामा रहेका आफ्ना कार्यकर्ता रिहाइ हुनुपर्ने, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग अघि सार्दै आएको छ।
कर्णले भने, ‘हाम्रा माग पूरा गर्नुपर्नेमा प्रस्ट कुरा राखिएको छ। प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिनुभएको छ।’
जसपामा सरकारमा जाने विषयमा विवाद छ। ठाकुर पक्ष मुद्दा फिर्ता लिएमा र कार्यकर्ता रिहाइ गरेमा सरकारमा जाने पक्षमा छ। बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने तत्काल सरकारमा जाने पक्षमा छैन।
