काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तर्फबाट कर्णाली प्रदेशमा सांसद रहेका देवी ओलीले आफू झुक्किएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वासको मतको पक्षतर्फको लाइनमा उभिन पुगेको प्रष्ट पारेकी छन्। केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको प्रत्युत्तर लेख्दै ओलीले यस्तो बताएकी हुन्।
उनले आफू नेकपा एमालेको प्रदेश संसदीय दलको बैठकको निर्णय र ह्विपअनुसार नै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वासको मतको विपक्षमा मतदान गरेको प्रष्ट पारकी छन्। उनले यस विषयमा संसदीय दलको बैठकमा समेत प्रष्ट पारिसकेको उल्लेख गरेकी छन्।
'म झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेछु। थाहा पाउने वित्तिकै फर्किएर मुख्यमन्त्रि महेन्द्रबहादुर शाहीको प्रस्तावको वपक्षमा मतदजान गरेको स्पष्ट पार्न चाहन्छु,' उनले दिएको प्रत्युत्तरमा उल्लेख छ।
ओली पक्षले उनीसहित कर्णालीका ५ सांसद र संघीय संसद्का २७ जना सांसद्सँग स्पष्टीकरण माग गरेको थियो।
