काठमाडौं– नेकपा (एमाले) ले यस वर्ष नेकपाको स्थापना दिवस नमनाउने भएको छ।
नयाँ भेरिएन्टको कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको भन्दै एमालेले नेकपाको ७२ औं स्थापना दिवसको कार्यक्रम स्थगित गरेको हो।
नेकपा (एमाले) केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज मंगलबार विज्ञप्ति जारी गरी ९ वैशाखका लागि तय भएको कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्।
सो दिनका लागि काठमाडौंको प्रज्ञा भवनमा तय भएको कार्यक्रम स्थगित गरिए पनि संक्रमण नफैलिएका जिल्लाहरुमा भने स्वास्थ्य मापदण्डहरु पालना गरेर कार्यक्रम गर्न प्रचार विभागले अनुरोध गरेको छ।
सरकारले २५ जनाभन्दा बढी मानिसको जमघट गर्न नपाइने निर्णय गरेको तर राष्ट्रपति, प्रधानमन्त्री र सरकारका मन्त्री नै स्वास्थ्य मापदण्ड विपरीत त्यस्ता कार्यक्रममा सहभागी भएको भन्दै विज्ञप्तिमा त्यसलाई गैरजिम्मेवारीपनको पराकाष्ठा भनिएको छ।
