काठमाडौं– नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले पार्टीभित्र देखा परेका समस्या समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो बिनाकारण सांसदहरुमाथि कारबाही गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
फेसबुक पेजमा आफ्नो धारणा राख्दै उनले यस्ता कारबाहीका शृखंलाले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको बताएका छन्।
‘संवादहिनता र कारबाहीको बाटो कुनै पनि हालतमा समाधान हुन सक्दैन। अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट सञ्चालन गरेर नै एकता जोगाउन सकिन्छ,’ उनले भनेका छन्,
‘एउटा इमान्दार कार्यकर्ताको लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ। यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहनाबमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधिमार्फत समाधान खोज्न म आग्रह गर्दछु। पार्टी एकताको रक्षा गरौं।’
