काठमाडौं– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प गरेका छन्।
पूजाअर्चनाका क्रममा महानिरीक्षक थापा क्षेत्रीले बलि पूजा तथा निसानमा पञ्जा छापसमेत लगाएका थिए। साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गरे।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गरेका थिए।
पूजा विसर्जनपछि मूलकोत हनुमानढोकाका लागि निसान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरिएको थियो।
नेपाल प्रहरीको निसान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो। जसमा दुई वटा निसान हुन्छन्। मुख्य निसामा सूर्य र चन्द्रको बीचमा राम धनुष चिह्न अंकित भएको हुन्छ भने सहायक निसानमा सूर्य र चन्द्र चिह्न अंकित हुन्छ।
नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्त्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र ईष्ट देवताको प्रतीकका रुपमा निसान झण्डालाई लिइन्छ।
संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनेर निसान झण्डालाई पूजा गर्ने परम्परा छ।
नेपाल प्रहरीले २०११ सालमा निशान झण्डा प्राप्त गरेपछि हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ।
