शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिक समाज र मिडियामाथि ओलीको आक्रोश– जनतामा निराशा पैदा गर्ने काम भयो

नागरिक समाज र मिडियामाथि ओलीको आक्रोश– जनतामा निराशा पैदा गर्ने काम भयो

नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलदेखि अन्य राजनीतिक दलहरूप्रति तिखो टिप्पणी गरेका छन्।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलदेखि अन्य राजनीतिक दलहरूप्रति तिखो टिप्पणी गरेका छन्।

पार्टीको सोमबार बसेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले संसदमा मुख्य विपक्षी नेपाली कांग्रेस यतिबेला अन्योलबाट गुज्रिरहेको बताएका छन्। ‘नेकपाको विभाजनका कारण निर्वाचनबाट आफू लाभान्वित हुने आकलन गरिरहेको यो पार्टी नयाँ निर्वाचनको पक्षमा भने उभिन सकेको छैन,’ प्रतिवेदनमा उनले भनेका छन्, ‘निरन्तर प्रयास गरे पनि उसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पनि सकिरहेको छैन।’

नेपाली कांग्रेसको द्विविधा र ऊभित्र गुटैपिच्छेको भिन्नाभिन्नै मतले राजनीतिलाई अन्योलग्रस्त बनाइरहेको ओलीको टिप्पणी छ। 

ओलीले फागुन २३ पछि प्रतिनिधिसभामा तेस्रो दलको हैसियतमा पुगेको नेकपा माओवादी केन्द्र प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउने र नेकपा (एमाले) लाई विभाजन गर्ने एकसूत्रीय अभियानमा केन्द्रित रहेको टिप्पणी गरेका छन्। ‘ऊ विदेशी शक्तिका लागि कम्फर्टेबल सरकार बनाउन तयार छ। प्रधानमन्त्रीको प्रस्ताव बोकेर विभिन्न दलहरूको ढोकामा पुग्छ। 

आफू नेकपा (एमाले) समेतको समर्थनबाट विजयी भएको तथ्यलाई लत्याउँदै राजनीतिक स्थायित्वका पक्षमा उभिएका नेताहरूलाई
कारबाही गर्छ,’ प्रतिवेदनमा भनिएको छ। बेलाबेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रकट हुने अर्को जनयुद्ध, अर्को विद्रोहका अभिव्यक्ति हताशाका अभिव्यक्ति बाहेक केही नभएको ओलीको भनाइ छ। 

बाह्य शक्तिको आडमा मुलुकमा राजनीतिक अस्थिरता फैलाउने, जातीय–क्षेत्रीय द्वन्द्व चर्काएर राजनीतिक अभीष्ट पूरा गर्ने र प्रत्येक राजनीतिक दलहरूभित्र विभाजन ल्याउने र यसबाट आफ्नो स्वार्थसिद्ध गर्न अभ्यस्त कतिपय नेताहरू यी दाउपेच निष्प्रभावी हुँदै गएका कारण अतालिएको उनले उल्लेख गरेका छन्।

हताश बन्दै गएको माओवादी केन्द्रको भूमिका आगामी दिनमा झनै नकारात्मक एवं विभिन्न शक्ति केन्द्रका लागि सहयोगी हुने सम्भावना रहेको ओलीको विश्लेषण छ। यस्ता अवसरवादी र हानिकारक प्रवृत्तिको आलोचना गर्दै माओवादीभित्रका सकारात्मक पक्षलाई एकतावद्ध बनाउने प्रयासलाई जारी राख्नुपर्ने ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।

ओलीले जनता समाजवादी पार्टीमा पनि अन्योल देखिएको टिप्पणी गरेका छन्। ‘त्यसको एक पक्ष राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि सरकारसँग रचनात्मक संवाद गर्न तयार देखिएको छ भने केही नेताहरू सरकारको विरोधको एकसूत्रीय अभियानमा केन्द्रित देखिन्छन्,’ जसपाप्रति ओलीले टिप्पणी गर्दै भनेका छन्।

ओलीले नागरिक आन्दोलनप्रति पनि कडा टिप्पणी गर्दै त्यसको आवरणमा कतिपय व्यक्ति र समूहबाट सरकारको निराधार विरोध गर्ने, प्राप्त उपलव्धिलाई ओझेलमा पार्दै एकोहोरो नकारात्मक प्रचार गर्ने, जनताका धार्मिक–सांस्कृतिक आस्था, विकास निर्माण र शान्ति सुरक्षासँग जोडिएका संवेदनशिलतामाथि खेलबाड गर्ने र सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको बताएका छन्। 

‘संवैधानिक उच्च ओहदामा रहिसकेका व्यक्तिहरू पनि सरकारको विरोधजस्तो राजनीतिक भूमिका सक्रिय भइरहेको देखिएको छ । स्वतन्त्र, व्यावसायिक र निष्पक्ष रहनुपर्ने मिडियालाई सरकारविरूद्ध परिचालित गर्ने कोसिस भएको छ ।

जनतामा निराशा र समाजमा भ्रम पैदा गर्दै मुलुकलाई पुनः अस्थिरतातिर धकेल्न विभिन्न कोणबाट भइरहेका यस्ता क्रियाकलापप्रति सजग रहनुपर्छ,’ ओलीको प्रतिवेदनमा भनिएको छ। पार्टीभित्र रहेका माधव नेपाल लगायतका नेताहरूलाई पनि टिप्प्णी गर्दै विगतका कमीहरू सच्याएर पार्टी एकतामा योगदान गर्नुको साटो केही नेताहरू उल्टो र विभाजनकारी बाटो हिँडिरहेको ओलीको टिप्पणी छ।

‘फागुन २३ पछि पनि प्रचण्ड लगायत नेताहरूसँग बारम्बार गोप्य बैठक गर्ने, पार्टीविरूद्ध षड्यन्त्र गर्ने, गुटगत भेला र बैठक गर्दै नेकपा (एमाले) मा फर्केर केपी ओलीलाई परास्त गर्ने जस्ता निर्णय गर्ने, बैठकमा सहभागी हुन गरिएको आह्वानलाई बेवास्ता गर्दै समानान्तर गतिविधि गर्दै पार्टी विभाजनको आधार तयार गर्ने अभ्यास जारी छन्,’ ओलीले भनेका छन्।

फागुन २८ गतेको केन्द्रीय कमिटीको विशेष बैठक अदालतबाट पुनर्स्थापित पार्टीलाई व्यवस्थित गर्ने, विधानका वाधाहरू हटाउने, प्रतिकूल अवस्थामा पार्टी नेतृत्वका पक्षमा दृढतापूर्वक उभिने पूर्व माओवादी केन्द्र पृष्ठभूमिका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने एवं विगतमा पार्टी एकता र नेतृत्वका विपक्षमा उभिएका साथीहरूलाई गल्ती सच्याएर पार्टीमा क्रियाशील हुन आह्वान गर्ने जस्ता सकारात्मक निर्णयमा केन्द्रित रहेको ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: Apr 20, 2021| 06:05 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।