विराटनगर - एन्टिजेन परीक्षण रिपोर्ट पोजिटिभ आएकी एक महिलाको विराटनगरका विभिन्न अस्पताल डुलाउँदाडुलाउँदै मृत्यु भएको छ। विराटनगरका अस्पतालले भर्ना लिन अस्वीकार गरेपछि उपचार नपाएर उदयपुर गाईघाटकी ३५ वर्षीया महिलाको ज्यान गएको हो।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि सोमबार बिहान साढे ३ बजेतिर विराटनगर ल्याएर गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो। एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि विभिन्न अस्पताल पुर्याए पनि उपचार गराउन कसैले नमानेको एम्बुलेन्स चालकले बताए।
कुनै अस्पतालले उपचार गर्न नमानेपछि आफन्तले विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई सम्पर्क गरेका थिए। त्यति बेलासम्म श्वास फेर्न नसकेर बिरामीको अवस्था अन्तिम बनिसकेको थियो।
दासको आग्रहमा बिरामीलाई बिहान ७ बजेतिर दोस्रो पटक कोशी अस्पताल पुर्याइए पनि केहीबेरमै मृत्यु भएको ती आफन्तको भनाइ छ। मृतक महिलाको शरीरमा अक्सिजनको मात्रामा पनि निकै कम रहेको डा. दासले बताए। समयमै उपचार भएको भए महिलाको ज्यान बच्न सक्ने एक स्वास्थ्यकर्मी बताउँछन्।
एम्बुलेन्स चालकका अनुसार महिलालाई उदयपुरबाट विराटनगरसम्म ल्याइपुर्याउँदा दुई सिलिन्डर अक्सिजन सकिएको थियो।
मृत्युपछि महिलाको शव परिवारका सदस्य र आफन्तले उदयपुरस्थित घरतर्फ लिएर गएका छन्। कोरोना संक्रमणका कारण कोही कसैको मृत्यु भएमा स्वास्थ्य सावधानी अपनाउँदै र आवश्यक मापदण्डको पालना गर्दै शवको अन्त्येष्टि गर्नुपर्ने नियम छ।
गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले रिपोर्ट पोजिटिभ आएका कारण सुविधा उपलब्ध गराउन नसकिएकाले थप उपचारका लागि महिलालाई आइसोलेसन सेन्टरमा रेफर गरिएको जानकारी दिए।
विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीका अनुसार विश्व स्वास्थ्य संगठनले एन्टिजेन रिपोर्ट पोजिटिभ आउनुलाई कोरोना संक्रमण भनेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले अस्पतालले महिलाको उपचार गराउन नमानेको विषयमा थप बुझ्ने काम भइरहेको जानकारी दिए।
