शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेतो मच्छेन्द्रनाथको रथ केलटोलबाट दरबारमार्गस्थित तीनधारा लगिने

सेतो मच्छेन्द्रनाथको रथ केलटोलबाट दरबारमार्गस्थित तीनधारा लगिने

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं - वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ।

रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ। जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ। जात्राका लागि काठमाडौं महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको छ।  

वैशाख २ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गर्ने निर्णय गरेको समितिका संयोजक नीलकाजी शाक्यले राससलाई जानकारी दिए।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ। सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ। स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाउने गरी तयारी गरिएको समितिका सचिव सुजीव बज्राचार्यले बताए। बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षित रुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरिएको छ।

एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ। यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ। जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ। कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो।

रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गरेको शाखा काठमाडौंका प्रमुख हरिप्रसाद सुवेदीले बताइन्। अष्टमीका दिन कुमारीलाई पनि त्यहाँ लगेर रथयात्रा सुरु गर्ने परम्परा छ। रथयात्रा आज बेलुकी ६ बजे सुरु गरिन्छ। पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी राखिन्छ।

असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्नुहुने कार्यक्रम छ। गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो। रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पूजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको काठमाडौं महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष रहेका शाक्यले बताए।

सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न सकिने गरी सम्पन्न गरेर उपत्यकाका अन्य जात्रा एवं मेलालाई पनि सहज रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गर्न सकिन्छ भन्ने देखाउन खोजिएको छ। यसका लागि सरोकार भएका सबै निकायलाई समन्वय गरेर काम गरिएको समितिका सचिव बज्राचार्यले सुनाए। 

रथयात्रा चलाउने मार्गमा एक घण्टा अघि नै माइकिङ गरेर सुरक्षित रुपमा जात्रा हेर्न आम मानिसलाई आह्वान गर्ने तयारी समितिको छ। जात्रामा सहभागी हुनुअघि र भइसकेपछि पनि साबुन पानीले हात धुन पनि समितिले अनुरोध गरेको छ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दसैंका दिनदेखि तान्ने गरिएको छ। यो रथलाई नागराजको प्रतीक मानिन्छ। प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ। रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ। तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ। रासस

प्रकाशित: Apr 20, 2021| 01:06 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।