शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ५ वटा नयाँ विमान किन्न बजेट माग, घाँडो बने चिनियाँ जहाज 

५ वटा नयाँ विमान किन्न बजेट माग, घाँडो बने चिनियाँ जहाज 

सोमबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले विमान थप गर्नका लागि माग गरिएको बताए। नेपालका विकट ठाउँमा निजी सेवा प्रदायकले उडान नगरेकाले सरकारी निकायले नै विमान थप्नुपर्ने बताएका हुन्। 
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं- संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयले पाँच वटा नयाँ विमान थप्नका लागि बजेट विनियोजन गर्न माग गरेको छ। मन्त्रालयले नेपालका दुर्गम तथा हिमाली भेगका लागि विमानहरुको संख्या कम भएको भन्दै तीन वटा ट्विनअटर र दुई वटा न्यारोबडी विमान थप्नुपर्ने भएको भन्दै बजेट माग गरिएको जानकारी संसदीय समितिलाई गराएको हो।

सोमबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले विमान थप गर्नका लागि माग गरिएको बताए। नेपालका विकट ठाउँमा निजी सेवा प्रदायकले उडान नगरेकाले सरकारी निकायले नै विमान थप्नुपर्ने बताएका हुन्। 

‘हामीसँग पर्याप्त विमान छैनन्। चिनियाँ जहाज फर्काउदा दुई देशको कुटनीतिमा नकारात्मक असर पर्ने हुँदा फर्काउन पनि नसक्ने र चलाउन पनि नसक्ने अवस्थामा छौँ। पाँच वटा विमान थप्नुपर्छ,‘ समिति बैठकमा सहभागी हुँदै सचिव कोइरालाले भने। कोइरालाका अनुसार जम्मा ३० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर पनि ५ विमानहरु किन्न सकिन्छ। 

समितिको बैठकमा संसद रामकुमारी झाक्रीले फाइदा हुने ठाउँमा निजी क्षेत्रलाई विमान चलाउन दिने र घाटा हुने ठाउँमा सरकारले विमान सेवा चलाएर घाटाको व्यापार कति दिन गरिरहने भन्दै प्रश्न उठाएकी थिइन्। 

'नाफा हुने स्थानमा निजी क्षेत्रले विमान चलाएर नाफा कमाउने, अनि घाटा हुने ठाउँमा मात्र नेपाल एयरलायन्स कसरी नाफामा जान सक्छ?,' उनको प्रश्न थियो। 

सांसद रामबाबु यादवले एयरपोर्ट निर्माण मात्र गरिने तर संचालनमा ल्याउन नसकिने वा व्यापारिक रूपमा फाइदा नहुने भन्दै यसमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए। ‘भारतजस्तो धेरै जनसंख्या भएको देशमा त थोरै एयरपोर्ट छन्। नेपालमा किन धेरै चाहियो? सडक पुगेको दिनमा एयरपोर्टको के काम? अहिलेको खर्च बालुवामा पानी हुँदैन? त्यसैले जथाभावी रुपमा एयरपोर्ट बनाउन भन्दा पनि अत्यावश्यक बाहेकको ठाउँमा एयरपोर्ट बनाउने काम बन्द गर्नुपर्छ।’

हाल नेपालमा ५६ स्थानमा एयरपोर्ट छन्। यीमध्ये ३४ वटा एयरपोर्ट मात्र सञ्चालनमा छन्। 

प्रकाशित: Apr 19, 2021| 15:07 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्