सुर्खेत- सुर्खेतमा कोरोना संक्रमण तीव्र गतिले बढेको छ। भारतलगायतका मुलुकबाट नागरिकहरु गाउँ फर्किन थालेपछि संक्रमण पनि बढ्न थालेको हो।
दुई हप्तादेखि सुर्खेतमा संक्रमण तीव्र गतिमा फैलिन थालेको हो। जसमध्ये पनि वीरेन्द्रनगर क्षेत्र संक्रमणको उच्च जोखिममा परेछ। सोमबार मात्रै वीरेन्द्रनगरका ७५ जनाको परीक्षण गर्दा ५० जनालाई संक्रमण पुष्टि भएको छ।
‘हप्ता दिनदेखि वीरेन्द्रनगरमा संक्रमण उच्च छ’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालयमा प्रमुख चेतननिधि वाग्लेले भने, ‘आज मात्रै ७५ जनामा परीक्षण गर्दा ५० जनालाई संक्रमण पुष्टि भयो।’ संक्रमितहरु विद्यार्थी, शिक्षक तथा सर्वसाधारण नागरिक हुन्। संक्रमितहरु होम आइसोलसनमा छन्। वीरेन्द्रनगरमा सोमबारसम्म संक्रमितको संख्या १२३ पुगिसकेको छ।
पछिल्लो समय परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक डा.रविन खड्का बताउँछन्। ‘परीक्षण गरिएका ६० प्रतिशतमा संक्रमण पुष्टि हुुँदै आएको छ’ उनी भन्छन्, ‘आज (सोमबार) को संक्रमणले वीरेन्द्रनगरमा उच्च सतर्कता अपनाउनुपर्ने संकेत गरेको छ।’ संक्रमणको गतिलाई कम गर्न भारतलगायतका बाह्य मुलुकबाट आउने नागरिकलाई क्वारेन्टिनमा राख्नु नै संक्रमणबाट बच्ने उत्तम उपाय हुने उनको सुझाव छ।
तर हाल वीरेन्द्रनगरलगायत कर्णाली प्रदेशमा कुनै पनि जिल्लामा सरकारी क्वारेन्टिनहरु सञ्चालनमा छैनन्। पछिल्लो समय भारतलगायत मुलुकबाट दैनिक दुई हजारको हाराहारीमा नागरिकहरु गाउँ फर्किन थालेका छन्। कर्णाली प्रदेशका नाकाको तथ्याङ्क अनुसार दैनिक १५ सयदेखि हजारसम्म नागरिकहरु गाउँ फर्कने गरेका छन्। गाउँ फर्किएकाहरु भने क्वारेन्टिनमा बस्ने गरेका छैनन्। यही कारण संक्रमण फैलिने जोखिम बढेको छ।
पुनः कोरोना संक्रमण बढ्न थालेपछि नाकाहरुमा थप सावधानी अपनाउने कर्णाली प्रदेश सरकारले जनाएको छ। ‘नाकामा हेल्थ डेस्कहरु त राखेको छौँ तर यतिमात्रै संक्रमण रोक्न सक्ने अवस्था छैन’ प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले भन्छिन्, ‘छिमेकी जिल्लामा संक्रमण बढ्दै गए नाका नै सिल गर्नुपर्ने अवस्था आउन सक्छ।’
हप्ता दिनदेखि छिमेकी जिल्ला बाँके र बर्दियामा संक्रमति बढिरहेका छन्। यही कारण कर्णाली प्रदेशमा पनि कोरोना संक्रमणको उच्च जोखिममा छ। संक्रमणको दर नघटे सबै नागरिकलाई अनिवार्य स्वास्थ्य परीक्षण र खाद्य तथा अखाद्य बस्तुलाई स्यानिटाइजर गरेर मात्रै प्रवेश दिइने सरकारको तयारी छ।
‘नाका र प्रदेशका जिल्लाहरुमा विशेष तयारी गर्न निर्देशन दिएका छौँ’ सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी सम्लादै आएकी केसीले भनिन्, ‘फेरि एकपटक कोरोना प्रतिकार्यमा खटिनुपर्ने अवस्था आइसक्यो।’ संक्रमण बढ्न थालेपछि चैत २० गतेदेखि सुर्खेतको कुइने र बबई नाकामा हेल्थ डेस्क राखिएको छ। हेल्थ डेस्कमा भारतलगायतका मुलुकबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश दिइने गरिएको छ।
