काठमाडौं- सरकारले विवाह लगायतका धार्मिक कार्यमा २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले यस्तो बताएका हुन्।
'मेला महोत्सव, विवाह, व्रतबन्ध, पर्व, पास्नी, धार्मिक अनुस्ठान, मलामीलगायत अत्यावश्यक धार्मिक कार्यमा २५ जनाभन्दा बढी भेला नहुने निर्णय भएको छ,' सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने।
यस्तै भिडभाड हुने स्थान सिनेमाहल, पार्टी प्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लबहरु, जीमखाना स्विमिङपुल, फुटसल, सभा, जुलुस, हाटबजार, रंगशालालगायतका स्थान वैशाख मसान्तसम्म बन्द गर्न आदेश जारी गरिएको समेत उनले बताए।
मन्त्री पार्वत गुरुङले मठमन्दिर, गुम्बा, चर्च लगायत धार्मिक स्थलमा वैशाख मसान्तसम्म नित्यपूजा, ध्यान र प्रार्थना मात्रै गर्ने गराउने निर्णय भएको जनाकारी दिए।
अत्यावश्यक काम गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा २५ जनामा नबढ्ने गरी गर्नुपर्ने समेत सरकारको निर्णय छ।
