काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठक अझसम्म पनि सुरु हुन सकेको छैन। शीर्ष नेताहरूबीच कुरा नमिल्दा बैठक सुरु हुन ढिलो भएको काग्रेसका एक जना केन्द्रीय सदस्यले जानकारी दिएका छन्।
दिउँसो ४ बजेका लागि बोलाइएको बैठक साँझ ६ बजे पनि सुरु नभएपछि केन्द्रीय सदस्यहरू कार्यालय परिसरमै बैठक सुरु हुने समयको प्रतीक्षामा छन्।
नेताहरूबीच कुरा नमिल्दा यसअघि आइतबार पनि बैठक स्थगित भएको थियो। १४औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो।
महाधिवेशनको कार्यतालिका र सत्ता समीकरणका विषयमा कांग्रेस नेताहरूबीच मतैक्यता हुन छैन। सहमति हुन नसक्दा बैठकमा ढिलाई भइरहेको छ।
पटक–पटक म्याद थप गर्दा समेत क्रियाशील सबै जिल्लाले क्रियाशील सदस्यता इन्ट्री गर्न सकेका छैनन्।
क्रियाशील सदस्यता इन्ट्री गर्ने अन्तिम म्याद चैत मसान्तलाई तोकिएको थियो। तर, तोकिएको समयसीमामा केही जिल्लाले इन्ट्री थालेका छैनन्।
क्रियाशील सदस्यता तोकिएको समयमा इन्ट्री सुरु नहुँदा महाधिवेशनको कार्यतालिका नै परिवर्तन गर्नुपर्ने स्थिति छ। कार्यतालिका हेरफेरका विषयमा शीर्ष नेताहरुबीच मतभेद देखिएपछि बैठक स्थगित भएको थियो।
