काठमाडौं- प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई जनताले धुलो चटाउने ठोकुवा गरेका छन्। सोमबार बालुवाटारमा भएको ओली पक्षीय एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।
'केपी ओलीलाई घोक्र्याउँछु, धुलो चटाउछु। भित्तामा टास्छौँ भन्दै हिड्ने प्रचण्ड-माधव नेपाललाई अब जनताले धुलो चटाउनेछन् र भित्तामा टाँस्नेछन्,' ओलीको भनाइ छ।
माधव नेपाल र प्रचण्डले राजनीतिक अपराध गरेकाले उनीहरूलाई इतिहासले कलंकको टीका लगाउने ओलीको भनाइ थियो। 'माधव नेपालहरूले संघीयता विरोधी, अलोकतान्त्रिक अराजक अनुशासनहीन काम गर्ने, समानान्तर कमिटी बनाउने र प्लोर क्रस गराउनेसम्मको अपराध गरे। इतिहासले कंलकको टीका प्रचण्ड र माधव नेपालहरूलाई लगाउनेछ,' बैठकमा सम्बोधन गर्दै ओलीको बताएका थिए।
उनले प्रचण्डामा दुईमुखे प्रवृत्ति रहेकोसमेत आरोप लगाए। 'प्रचण्डको दुईमुखे प्रवृत्ति छ। एक मुखले देशभक्तिको कुरा गर्ने, अर्कोतिर राष्ट्रघाती काम गर्ने। एकातिर न्याय र सुशासनको कुरा गर्ने अर्को तिर आपराधिक कर्म र भ्रष्टाचार गर्ने।'
उनले नेपाल समूहले ऐतिहासिक अपराध कर्म गरेको आरोप लगाए। 'माधव नेपालहरू अर्कको पतिको लागि सति गइरहेकाछन्। आफ्नो पार्टीको सरकार ढालेर अरुको सरकार बनाउन सांसदहरुलाइ फाँसी चडाउँदैछन्। यो ऐतिहासिक अपराध हो,' ओलीको भनाइ थियो।
