काठमाडौं - लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।
कांग्रेस सचेतक फखरुद्दिन खानका अनुसार नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ। मुख्यमन्त्रीमा प्रस्तावित केसी नेकपा माओवादी केन्द्रका नेता हुन्। उनी प्रदेश सरकारका कानुन मन्त्री हुन्।
४१ सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ताका लागि संसद सचिवालय पुगेको उनले बताए।
अविश्वासको प्रस्ताव दर्ता गर्ने दलहरूले दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत जानकारी विस्तृत जानकारी दिने छन्।
लुम्बिनी प्रदेश सभामा ८७ सांसद मध्ये माओवादीका दुई जना सांसद एमालेमा गएपछि माओवादीले कारबाही गरिसकेको छ। लुम्बिनीमा सरकार बनाउन ४३ सांसद आवश्यक हुन्छ।
प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, माओवादीका १७, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन्। लुम्बिनी प्रदेशमा एमाले बाहेकका दलहरू एक भएर अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।




