काठमाडौं- माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जेठ २ गतेबाट विद्युत उत्पादन सुरु गर्ने भएको छ। आइतबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यस्तो जानकारी दिएका हुन्।
माथिल्लो तामाकोसी जलाशयमा वैशाख १३ गते पानी भर्ने, २० गते पहिलोपटक मेसिन घुमाउने र जेठ २ गते उत्पादन सुरु गर्ने गरी काम थालिएको उनको भनाइ छ।
‘हामीले साउन महिनाभित्रमा माथिल्लो तामाकोसीको ६ वटै युनिटबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेका छौँ।सोचअनुसार नै काम भयो भने एक दुई दिन अगाडि पनि आउन सक्छ,’ उनले भने। माथिल्लो तामाकोशीका ६ वटै युनिट संचालन हुँदा ४५६ मेगावाट विद्युत उत्पादन हुन्छ।
शाक्यले आयोजनाको काममा ढिलाइ भएको खबर पाएपछि बुझ्नका लागि आफू दुई दिनअघि मात्र आयोजनाको स्थलगत निरीक्षणमा पुगेको उल्लेख गरेका थिए। निरीक्षणमा सबै योजना अनुरुप नै गइरहेको पाएको समेत बताए।