काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानले प्रत्याभूति गरेका उपलब्धि उल्ट्याउने प्रयास भइरहेको बताएका छन्। चितवनको माडीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले इतिहासलाई पछि धकल्ने दुस्साहस भइरहेको उनको भनाइ छ।
'प्रतिक्रियावादी शक्तिहरू इतिहासलाई पछि धकेल्ने दुस्साहस गर्दैछन्। संविधान विघटन गरी संविधान र त्यसले प्रत्याभूत गरेका उपलब्धिमाथि निरंकुश र स्वेच्छाचारी प्रहार भयो,' अध्यक्ष प्रचण्डले भने, 'हामीले त्यो लडाईं जित्यौँ। तर खतरा अझै पनि टरेको छैन।'
उनले आफ्नाविरुद्धमा विभिन्न अफवाहरू फैलाइएको समेत बताएका छन्। 'परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको छ। अब जनता लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि लड्ने वाला छैनन् भनी अफवाह फैलाउने गरिएको छ,' अध्यक्ष प्रचण्डले भने।
प्रतिनिधि सभा विघटन गरेर संविधानमाथि बलात् प्रहार भएका अवस्थामा आफूले करोडौं जनताको संघर्षबाट प्राप्त उपलब्धि रक्षाका लागि पुन लडाइ गर्नुपर्ने बताएको उनले प्रष्ट पारे।
उनले माडीबासीका आधारभूत समस्या समाधान नहुन्जेल आफू निरन्तर संघर्षमा रहने दाबी गरे। आइतबार नै आफू काठमाडौं गएर दलहरूसँग महत्वपूर्ण परामर्श गरी सरकारलाई ठेगान लगाउने समेत उद्घोष गरेका थिए।
