काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले परराष्ट्र नीति, २०७७ तर्जुमा गर्दा संसद्मा प्रतिनिधित्व गर्ने दल र संसदीय समितिसँग राय नलिइएको भन्दै आपत्ति जनाएको छ। परराष्ट्र नीतिका सम्बन्धमा छलफल गर्नका लागि प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा कांग्रेसकी प्रमुख सचेतकसमेत रहेकी पुष्पा भुसालले आपत्ति प्रकट गरेकी हुन्।
'संसदीय समितिमा प्रारम्भिक छलफल भएर परराष्ट्र नीति आएको भए राम्रो हुन्थ्यो। अन्तर्राष्ट्रिय समितिसँग किन राय लिइएन?,' प्रमुख सचेतक भुसालको प्रश्न थियो। उनले संसदीय समितिको राय पनि नलिई आएको परराष्ट्र नीतिमा प्रक्रियागत त्रुटि भएको आशंका व्यक्त गरिन्।
नेपालमा परराष्ट्र नीति र सुरक्षा नीति कुनै पार्टीको मात्र विषय नभएकाले यस्ता विषयमा सरकार संवेदनशील बन्नुपर्ने उनको धारणा थियो। 'यो मुलुकको विषय हो। जुनसुकै सरकार आएपनि यो नीति बलियो बनाउनुपर्छ। कम्तिमा संसद्माप प्रतिनिधित्व गर्ने सबै पार्टीसँग परामर्श गर्नुपर्ने थियो। सबै दलको सहमतिबाटै यो दस्तावेज आएको भए हुन्थ्यो।'
छलफलमा सहभागी हुँदै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले परराष्ट्र नीति राम्रो बनाइएको दाबी गरेका थिए।
