काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई मन्त्रिपरिषद्मा नियुक्त गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले आज (आइतबार) थापालाई गृहमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले राष्ट्रपति भण्डारीले थापालाई संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीमा नियुक्त गरेको जनाएका छन्।
थापाको राष्ट्रियसभा सदस्य पद खोसिएपछि आइतबार पदमुक्त भएका थिए। नेकपा माओवादी केन्द्रले थापाले दल त्याग गरेको पत्र चैत २७ गते नै संसदमा दर्ता गराए पनि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले आइतबार थापा राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएको निर्णय गरेका थिए।
राष्ट्रियसभा सदस्यसँगै गृहमन्त्री पद गुमेका थापा आइतबार नै पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।
संघीय संसदको सदस्य नहरेको व्यक्ति संविधानअनुसार ६ महिनासम्म मन्त्री बन्नसक्ने प्राबधान छ। त्यसपछि मन्त्रिपरिषदमा निरन्तर रहनका लागि संघीय संसदको कुनै पनि सदनको सदस्य हुनुपर्ने संवैधानिक प्रावधान छ।
थापालाई गृहमन्त्री पदमा आजै शपथ थराउने कार्यक्रम छ।
