काठमाडौं– राष्ट्रियसभा सदस्य रहेका रामबहादुर थापाको सांसद पद खोसिएपछि उनको स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गराउनुपर्ने भएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कारबाही गरेपछि बादलको सांसद पद खारेज भएको हो।
राष्ट्रियसभा निर्वाचन ऐन, २०७५ को दफा ६१ अनुसार रिक्त राष्ट्रिय सभा सदस्यको स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गराउनुपर्ने हुन्छ।
‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐनबमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नेछ,’ ऐनको दफा ६१ मा उल्लेख छ।
माओवादी केन्द्रबाट सांसद बनेका थापा नेकपा एमालेमा लागेपछि माओवादी केन्द्रले कारबाही गरी सांसद पद खोसेको हो। यसअघि पनि माओवादी केन्द्रले चार सांसदहरूलाई कारबाही गरेपछि सांसद पद खोसिएको थियो। उनीहरू चारै जना ओली समूहको एमाले प्रवेश गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारमात्र सर्वदलीय बैठक राखेर उपनिर्वाचन गराउने विषयमा छलफल गरेका थिए।
