काठमाडौं - कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी त्रिदेशीय टी-२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेदरल्यान्ड्सले मलेसियाविरुद्ध टस जितेर ब्याटिङ राेजेको छ।
पहिलो खेलमा आयोजक नेपालसँग पराजय भोगेको नेदरल्यान्ड्स दोस्रो खेलमा पुनरागमन गर्दै जित निकाल्न चाहन्छ।
आजको खेलमा जित निकाल्न सके नेदरल्यान्ड्सले फाइनल पुग्ने सम्भावना कामय राख्नेछ। तर, पराजय भोगे उसको फाइनल यात्रामा धक्का लाग्न सक्ने छ।
यता मलेसिया टी–२० क्रिकेटमा २०२० मा भएको अन्तिम दुई खेलमा पराजित भएको थियो। तर, पछिल्ला पाँच खेलमा उसले तीन जित निकालेको छ।
महामारीअघि घरेलु भूमिमा मलेसियाले आफूभन्दा बलियो टिम हङकङविरुद्ध लगातार जित निकालेको थियो।
आईसीसी वरीयतामा निकै तल रहे पनि मलेसियाले बलिया टिमहरूलाई हराउँदै आइरहेकाले उसले आजको खेलमा पनि त्यो लय प्रस्तुत गर्ने अनुमान लगाउन सकिन्छ।
उसले महामारीअघि भएको खेलमा नेपाल, थाइल्यान्ड र हङकङ जस्तो टिमलाई हराएको थियो।
नेदरल्यान्ड्सले २०२० मा कुनै खेल नखेले पनि २०१९ मा खेलेको अन्तिम पाँच खेलमा जित निकालेको थियो। त्यसपछि हिजोको खेलमा नेपालसँग हार बेहोरेको हो।
