जनकपुरधाम- भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले रेल गुड्ने मिति यकिनका साथ भन्न नसकिने बताएका छन्। नेपालमा रेल आएको ७ महिना बित्दासमेत सञ्चालनको मिति टुंगो लाग्न नसकेको विभागीय मन्त्रीको भनाइ आएको हो।
जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री नेम्वाङले चाँडै रेल सञ्चालनमा ल्याउने दाबी गरेपनि मिति भने भन्न नसकिने बताएका हुन्।
‘हामीले छिट्टै ३५ किलोमिटर रेल संचालनमा ल्याउने तयारी गरिरहेका छौँ। तर अझै ठ्याक्कै यही मितिमा गुड्ने भन्न सकिने अवस्था अझै छैन,’ उनले भने। कोरोना महामारीका कारण रेल सञ्चालनमा आउन नसकेको उनको दाबी छ।
जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भई सकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरेको थियो। अब रेल सञ्चालनका लागि भारतबाट दक्ष जनशक्तिको व्यवस्थापनको टुङ्गो लागेकाले प्रथम खण्डको जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटरमा रेल सञ्चालनको करिब सबै तयारी पूरा भएको मन्त्री नेम्वाङको दाबी छ।
सरकारले चाँडै संचालनमा ल्याउने दाबी गर्न थालेको ७ महिना बितिसकेको छ। गत वर्ष असोजमा नेपालका दुई सेट रेल ल्याइएको थियो।
