उदयपुर- उदयपुरको बेलका नगरपालिका–१ आम्बासीबाट एक मेडिकल सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार रातको १२ बजे सप्तरी चिरहुत गाउँपालिका–२ मैनाकडेरी घर भई बेलकाको आम्बासीमा मेडिकल सञ्चालन गर्दै आएका २६ वर्षीय सुबोध यादव लागुऔषधसहित पक्राउ परेका हुन्।
यादवले औषधि पसल सञ्चालन गर्ने नाममा लागुऔषध कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरीले कार्यालय बेलका रामपुरले यादवको पोलिक्लिनिक प्रालिमा छापा मार्दा लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
क्लिनिकमा छापा मार्दा ट्रमाडोल हाइड्रोक्लोराइड १५० ट्याब्लेट, डाइमाइसो माइन ५२५ ट्याब्लेट, स्लाइन डिवाफिल–डी ३२५ र जुनग्रारेड ५० ट्याब्लेटसहित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको साथबाट नगद एक लाख १७ हजार र एक मोबाइलसमेत बरामद गरिएको छ।
