सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका तीन जना सांसदलाई पार्टीबाट निष्काशन गरेको छ। कर्णाली प्रदेशका सांसदहरू नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको हो।
शनिबार बसेको प्रदेश कमिटी बैठकले तीन जना सांसदलाई कारबाही गरेको एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले बताए।
त्यस्तै अर्का सांसद प्रकाश ज्वालालाई आवश्यक कारबाही गर्न पार्टी केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको छ।
‘२०७८ वैशाख ३ गतेदेखि लागु हुनेगरी पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्काशन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निश्काशन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ,’ एमाले प्रदेश कमिटीका अध्यक्ष अध्यक्ष बोगटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

