सुर्खेत- कोहलपुरमा यात्रुबाहक बस र टिप्पर एकआपसमा ठोक्किदा भएको दुर्घटनामा परी मृत्यु भएका ५ जनामध्ये ४ जनाको सनाखत भएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रसिंह खड्काका अनुसार मृतक सुर्खेत लेकबेशी नगरपालिका (साविक साठाखानी–७ निवासी) का जीवनकुमार विक, झापा मेची नगरपालिका-१० का बसका मालिक छत्रबहादुर कटुवाल, कोहलपुर नगरपालिका–३ का टिप्पर चालक खगेन्द्रबहादुर सुनार, कोहलपुर-१२ का टिपरका सहचालक उदय बाठा छन्। मृतक एक महिलाको सनाखत भएको छैन।
सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ बस शुक्रबार बेलुका करिब ६ बजेतिर कोहलपुर नगरपालिका-१२ रोहिणी खोला नजिकै टिपरसँग ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परी ३० भन्दा बढी यात्रु घाइते छन्। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ।
घाइते सबैको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।
