काठमाडौं- कर्णालीमा महेन्द्रहादुर शाही सरकारले निरन्तरता पाउने वा नपाउने विषयको टुंगो लगाउन शुक्रबार प्रदेश सभामा मतदान भइरहेको थियो। केपी शर्मा ओली पक्षको नेकपा (एमाले) शाही नेतृत्वको सरकार ढाल्ने पक्षमा थियो। उसले नेकपा (माओवादी केन्द्र) का नेतासमेत रहेका महेन्द्रबहादुर शाही सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार बनाउने योजना बनाएको थियो। तर ओली पक्षको यो योजना त्यतिबेला तुहियो, जतिबेला सकारको पक्षमा विश्वासको मत पुगेको घोषणा भयो।
एमालेकै माधव नेपाल पक्षका केही सांसदले ओली पक्षको रणनीतिलाई विफल तुल्याइदिएको हो। नेपाल पक्षका चार सांसदले एमाले संसदीय दलको ह्विप विपरीत फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिएका थिए।
एमाले सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर शाहीका पक्षमा मतदान गरेका थिए। एमाले सांसदको साथ पाएपछि शाहीले २२ मत जुटाएर सरकार बहुमतमा रहेको सिद्ध गरिदिए। ओली पक्षीय एमाले यसपछि आक्रोशित बन्यो।
आक्रोशित बनेको ओली पक्षको एमालेले फ्लोर क्रस गर्ने चारै जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्नका लागि लागि पत्र पठाइसकिएको ओली पक्षका सांसद दल रावलले जानकारी दिए।
'बैठकले फ्लोर क्रस गर्ने ४ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने र कारबाहीका लागि केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको छ,’ रावलले भने।
ओलीका निकट मानिने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक आक्रोशमा आक्रोश पोखिसकेका छन्। माधव पक्षका केही सांसद्ले फ्लोर क्रस गर्नुलाई उनले राजनीतिक अपराधको संज्ञा दिएका छन्।
'राजनीतिमा विचारका आधारमा ध्रुवीकरण स्वभाविक मानिन्छ। तर एउटै पार्टीमा बसेर गरिने संसदीय ह्विप उल्लंघन गम्भीर राजनीतिक अपराध हो,' पोखरेलको स्टाटसमा लेखिएको छ।
Posted by Shankar Pokhrel on Friday, April 16, 2021
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको ट्विटले ओली पक्षको आक्रोश अनुमान लगाउन सकिन्छ। थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को हलीगोठाला बनेर पार्टीलाई घात गरेको उल्लेख गरेका छन्। थापाले यो हदसम्मको गद्धारी पार्टीलाई मान्य नहुने लेखेका छन्।
'प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा र देवी ओली- यी पाँचको अपराध अक्षम्य छ,' ट्विटमा थापाले आवेग पोखेका छन्, 'आर्थिक प्रलोभन वा राजनीतिक बिक्रीबट्टा यो कुन कोटीको गोटी बनेको दृष्टान्त हो? यस तहको गद्धारी किमार्थ मान्य हुन सक्दैन। प्रचण्डका हली-गोठाला बनेर यो तहको घात गर्ने?'
— Surya Thapa (@ThapajiSurya) April 16, 2021
