काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले बिजनेस नदिएर संसद् नै निष्क्रिय पार्न खोजेको आरोप लगाएका छन्। संसदलाई बिजनेस नदिइएकाले संसदीय व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ छ।
'संसदलाई बिजनेस नदिएर केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् निष्क्रय पार्न खोजेको छ,' शुक्रबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रता सेनानी सूर्यप्रसाद रेग्मीको प्रथम स्मृतिसभामा बोल्दै नेता सिंहले भने, ‘सरकार भएर पनि छ कि छैन जस्तो लाग्छ। संसदलाई बिजनेस नदिँदा संसदीय व्यवस्था नै छ कि छैन भन्ने अवस्था सिर्जना भइसक्यो।’
नेपाली कांग्रेसले अस्थिर राजनैतिक अवस्थाबाट निकास दिन पहलकदमी सुरु गरेको उनको भनाइ छ। ‘ओलीले राजीनामा दिनुपर्छ। कांग्रेसको नेतृत्वमा सरकार चाहिन्छ,’ उनले भने, ‘आफ्नै पार्टीको आन्तरिक कलहले संसद भंग गरेर ओलीले आफ्नो नैतिकताको स्तर देखाइसकेका छन्। ओलीलाई प्रधानमन्त्री भइरहने वैधानिकता पनि छैन।’
नेता सिहंले ओलीका कारण प्रजातन्त्र, बहुदलीय व्यवस्था र लोकतन्त्र संकटमा परेको बताए। लोकतन्त्र जोगाउनको लागी आफूहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै संकटमा चुप नलाग्न भनेको बताए।
कांग्रेस कमजोर भएको मौकामा ओलीले देशलाई नै कमजोर बनाएको उनको आरोप छ। ‘देशमा कम्युनिस्ट असफल भइसके। यिनीहरूले न संविधान नै जारी गर्न सके। न त संविधान कार्यान्वयनमा नै सफल हुन सके,’ उनले भने।
सिंहले कांग्रेसमा सक्षम नेतृत्वको आवश्यकता भएको बताए। नेतृत्वकै कारण कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको उनको तर्क छ।
