भक्तपुरमा रहेको एक गाई फर्ममा एक युवकको हत्या भएको छ।
भक्तपुरको सुर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेका गाई फर्ममा अन्दाजी २० वर्षीय युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
गोकुल बहादुर खुलालले सञ्चालन गरेको फर्ममा सोलुखुम्बुका ईश्वर राईको शव भेटिएको परिसरका सूचना अधिकारी दिपक गिरीले जानकारी दिए।
बिहीबार दिउँसो युवकको हत्या भएको र हत्यामा संलग्न व्यक्ति भाग्न खोजेको खबर आएपछि प्रहरी वृत जगातिबाट खटिएको टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको हो।
मृतक राईसँगै महोत्तरी जिल्ला घर भई मनोहरा बस्ने युनिस योञ्जन र सुनिल बल सिपाडोल गएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
उनीहरूबीच त्यहाँ कुनै कुरामा विवाद हुँदा फर्ममा चुकुल लगाएर कुटपिट गरी हत्या गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। उनीहरू बीचको विवादको विषय भने खुलेको छैन्।
झगडा हुँदा खुलाले राईमाथि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। घटना लगत्तै योञ्जन र बल झ्यालबाट भाग्न सफल भएका थिए।
प्रहरीले गाई फर्म सञ्चालक गोकुलबहादुर खुलालका छोरा २० वर्षिय आशिष खुलाललाई पक्राउ गरेको छ।
घटनाबारे थप अध्ययन अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ।
