काठमाडौं- नेपाल विद्युत प्राधिकरणले पावर एक्सचेन्ज मार्केटमार्फत् भारतीय बजारबाट विद्युत आयात गर्न स्वीकृति पाएको छ। बुधबार भारतको ऊर्जा मन्त्रालयले पावर एक्सचेन्ज मार्केटबाट विद्युत किन्न स्वीकृति प्रदान गरिएको जानकारी प्राधिकरणलाई दिएको हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले भारतीय बजारबाट पावर एक्सचेन्ज मार्केटमार्फत् विद्युत किन्नका लागि स्वीकृति प्राप्त भएको पुष्टि गरे। प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले यो नेपालको ऊर्जा विकासको लागि एउटा महत्वपूर्ण कोशेढुंगा भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
‘कसैको हस्तक्षेप बिना बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकताअनुसार विद्युत खरिद गरी आयात गर्न सकिने भएकाले दुई मुलुकबीचको विद्युत व्यापारका लागि यसको ऐतिहासिक महत्व रहेको छ,' शाक्यले भने, ‘ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले पहुँच पाएकाले भारत हुँदै बंगलादेशसम्मको विद्युत व्यापारका लागि अर्को स्टेपसमेत खुल्ला भएको छ।’
प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्तावसमेत पठाएको छ। प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत वर्षाको समयमा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव गरिएको कार्यकारी निर्देशक शाक्यले बताए।
‘भारतीय ऊर्जा बजारमा विद्युत खरिद र बिक्रीका लागि प्रस्ताव गरेका थियौं। खरिदको स्वीकृति पाएको छौं भने बिक्रीका लागि माग भएको थप आवश्यक कागजात पठाएका छौं,' शाक्यले भने।
सुक्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको वहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत उत्पादन उल्लेख्य मात्रामा घटेकाले विद्युत माग र आपूर्तिको व्यवस्थापनमा चाप परेकाले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गर्न स्वीकृति पाएकाले तत्काल करिब ३० मेगावाट खरिदको प्रक्रिया अगाडि बढाएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणले अहिलेसम्म एनटिपिसी विद्युत निगम लिमिटेड (एनभीभीएन), पावर ट्रेड कम्पनी (पिटिसी) र विहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका वितरण कम्पनीहरूसँग विद्युत खरिद गर्दै आएको छ। अब भारतीय बजारबाट सोझै आवश्यकताअनुसार विद्युत खरिद गरी आयात गर्न सकिने शाक्यले बताए।
यस वर्ष पानी पनि नपरेको र प्रदुषणलगायतका कारणले हिउँ पनि नपग्लिएकाले वैशाख सुरु हुँदासमेत खोलामा पानीको बहाव बढ्न सकेको छैन। यसले गर्दा नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरूबाट विद्युत उत्पादन घटेको छ।
विद्युतको माग बढेको तर आन्तरिक उत्पादन घटेका कारण आपूर्तिका लागि भारतबाट थप विद्युत आयात गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको कार्यकारी निर्देशक शाक्यले प्रष्ट पारे।
विगत वर्षहरुमा चैतको अन्तिमबाट खोलामा पानीको वहाव बृद्धि भई विद्युत उत्पादन बढ्ने गरेको थियो। तर, यो वर्ष पानी नबढ्दा प्राधिकरणको स्वामित्वमा रहेका १४४ मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमस्र्याङदी, ७९ मेगावाटको मस्र्याङदी लगायतका विद्युतगृहहरुको उत्पादन बढ्न सकेको छैन।
प्राधिकरणको तथ्याङअनुसार, चैतमा प्राधिकरणका आरओआर र अर्धजलाशययुक्त विद्युतगृहबाट औसतमा दुई सय मेगावाट, जलाशययुक्त कुलेखानीबाट ६० मेगावाट र निजी क्षेत्रका विद्युतगृहहरुबाट २०० मेगावाट विद्युत उत्पादन भएको छ भने भारतबाट ७१० मेगावाट आयात गरिएको छ। प्रणालीमा विद्युतको उच्चतम माग १४६३ मेगावाट, औसत माग ११५० मेगावाट पुगेको छ।
यो माग पूर्ति गर्न प्राधिकरणका विद्युतगृहहरुबाट अधिकतम ३४० मेगावाट, कुलेखानीबाट १०३ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरुबाट २०० मेगावाट र भारतबाट अधिकतम ७८० मेगावाट आयात गरिएको छ।