काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा पठनपाठनका सम्बन्धमा अस्पष्ट निर्णय गरेपछि बालबालिकालाई विद्यालय पठाउने वा नपठाउने भन्ने अन्योल उत्पन्न भएको छ।
मन्त्रालयले बिहीबार विद्यालयलगायत भिडभाड हुने स्थानमा सहभागी नहुन निर्देशन दिएको छ। तर, विद्यालयमा पठनपाठन बन्द गर्न भनिएको छैन।
‘विद्यालय, रात्री व्यवसायहरू, सात बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरू, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ स्विमिंग आदि स्थलहरुमा सहभागी नभइदिन’ अनुरोध गरिएको छ।
निजी विद्यालय सञ्चालकहरुको छाता संगठन (प्याव्सन)ले भने विद्यालय तत्काल बन्द नगर्ने स्पष्ट पारेको छ। प्याब्सनका उपाध्यक्ष ईश्वर बहादुर गुरुङले भने, ‘हामीले विद्यालय बन्द नगर्ने निर्णय यसअघि नै गरिसकेका छौँ। त्यो यथावत् छ।’ प्याब्सनले गत आइतबार तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको थियो।
निर्णयमा सबै विद्यार्थीलाई स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्न गराउन विशेष भूमिका निर्वाह गर्न सबै अनुरोध गरिएको थियो। साथै प्याब्सनले आ–आफ्ना बालबालिकाहरुलाई संक्रमणबाट जोगाउन मास्कको तथा स्यानिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दुरीको अवलम्बनका साथै स्वास्थ्यवर्द्धक खानपिन गराउनेजस्ता कार्यहरुमा सहयोग पुर्या इदिनुहुन अभिभावकहरुलाई अनुरोध गरेको थियो।
