काठमाडौं– नेपालका कति नागरिक भारत गएर रोजीरोटीमा संलग्न छन्? यसको उत्तर कुनै पनि सरकारी निकायसँग छैन। भारतबाहेकका अन्य मुलुकमा कुन उद्देश्यका लागि कति नेपाली गएका छ्न् त? त्यसको अभिलेख र जानकारी पनि सरकारसँग छैन।
कुन देशमा कति नेपाली गएका छन् भन्ने तथ्यांक नभएका कारण स्थानीय, प्रदेश र संघीय सरकार रणनीति एवं नीति निर्माण गर्दा अन्योलमा पर्ने गरेका छन्। सोही अन्योल चिर्न आगामी जनगणनामा विदेशमा रहेका नेपालीको संख्या समेट्न लागिएको छ।
भारतबाहेकका मुलुकमा ४० देखि ५० लाख नेपाली रहेको राष्ट्र बैंक लगायत सरकारी निकायको अनुमान छ। यस्तो अनुमान श्रम स्वीकृति लिएको आधारमा गरिएको हो।
कसैले दुई पटक र कसैले तीन पटक समेत श्रम स्वीकृति लिएकाले वास्तविक तथ्यांकमा प्रश्न उठ्दै आएको छ।
आगामी जनगणनामा भारतलगायत अन्य मुलुकमा समेत कुन देशमा के उद्देश्यका लागि कति नेपाली पुगेका छन् भन्ने विवरण समेट्न लागिएको छ। त्यसैले २०७८ सालमा पहिलो पटक विदेशमा रहेका नेपालीको वास्तविक तथ्यांक पत्ता लाग्ने विश्वास छ।
विभिन्न कारणले विदेश गएका नेपालीको संख्या महत्त्वपूर्ण हुने केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय जनगणना २०७८ सन्दर्भ पुस्तिका’ मा उल्लेख गरेको छ।
जनगणनाको मुख्य प्रश्नावलीमा समेटिएका 'परिवारका कुनै सदस्य विदेश गएका छन्? र विदेश गएका व्यक्तिको विवरण? जस्ता दुई प्रश्नले यसको उत्तर आउने विश्वास केन्द्रीय तथ्यांक विभागको छ।
‘नेपालभरिका अनुपस्थित जनसंख्याबारे विस्तृत जानकारी संकलन गर्ने एक मात्र स्रोत आगामी जनगणना हो’, प्रश्नको उद्देश्यमा उल्लेख छ, ‘पढ्न गएका, काम गर्नका लागि स्वीकृति लिई वा नलिई गएका, प्रतिबन्ध भएका मुलुकमा गएका लगायत परिवारमा अनुपस्थित महिला र पुरुषको वास्तविक विवरण संकलनले भविष्यमा गाउँ तथा नगरपालिकादेखि प्रदेश र संघ सरकारले लिनुपर्ने रणनीतिमा ठूलो सहयोग पुग्नेछ।’
रोजगारी गुमाउनेको तथ्यांक नै छैन
कोरोना भाइरसका कारण २०७७ साल त्रासको वर्ष बन्यो। कैयौंले स्वदेशमै रोजगारी गुमाए। कतिपयको व्यापार व्यवसाय बन्द भए। भारत लगायतका विभिन्न मुलुकबाट रोजगारी गुमाएर स्वदेश फर्किने नेपालीको संख्या पनि धेरै छ।
रोजगारी गुमाएका र व्यापार व्यवसाय बन्द भएको विषयमा सरकारका विभिन्न निकायले अध्ययन पनि गरे। तर, ती अध्ययन निश्चत क्षेत्रलाई नमुना छनोट गरेर गरिएका कारण वास्तविकता पत्ता लाग्न सकेन।
यी विषयमा पनि अब वास्तविकता पत्ता लाग्नेछ। विभागले आगामी जनगणनामा दिगो विकासका लक्ष्यको प्रगति पनि समेट्नेछ। दिगो विकासका लक्ष्यअन्तर्गत लैंगिक समानता, गरिबी, आर्थिक, सामाजिक विषय समेटिएका छन्। ती लक्ष्यलाई विभागले बनाएको प्रश्नावलीमार्फत समेटिने विश्वास छ।
वास्तविकता खोज्न यस्ता छन् प्रश्नावली
तपाईंको परिवारले प्रयोग गरेको घरको स्वामित्व कसको हो?
यस प्रश्नको उद्देश्य निजी स्वामित्वको घरमा बसोबास गर्ने, भाडामा बसोबास गर्ने, संस्थागत वा अन्य प्रयोजनका लागि प्रयोग भइरहने घर एवं परिवारको कुल संख्या पत्ता लगाउनु रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
२०६८ को जनगणनाअनुसार ८५.३ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा र १२.८ प्रतिशत परिवारको भाडाको घरमा बसोबास गर्थे। त्यसयता अन्य कुनै पनि अध्ययनले यस किसिमको वास्तविकता पत्ता लगाएका छैनन्।
तपाईको परिवारले प्रयोग गरेको घरको जग, बाहिरी गारो, छाना र भुइँ केले बनेको छ?
यस प्रश्नले क्षेत्रगत बसोबासका हिसाबले प्रयोग गर्ने घरको बनोट हेर्न खोजेको छ। घरको बनोटबाट परिवारको जीवनस्तर मापन गर्न सजिलो हुने विभागका अधिकारी बताउँछन्।
तपाईंको परिवारको खानेपानीको मुख्य स्रोत कुन हो?
सन् २०३० सम्ममा सबैका लागि सुरक्षित, आर्थिक रुपले धान्न सकिने मूल्यमा पिउने पानीको विश्वव्यापी रुपमा सर्वसुलभ तथा समतामूलक पहुँच हासिल गर्ने दिगो विकासको लक्ष्य छ।
यो प्रश्नकाे उत्तरबाट नेपालमा खानेपानीको पहुँचबारे थाहा पाइनेछ। २०६८ को जनगणनाअनुसार कुल परिवारको ४७.८ प्रतिशतले धारा र पाइपबाट, ३५ प्रतिशतले ट्युबबेल र हाते पम्पबाट तथा २७.२ प्रतिशतले अन्य स्रोतबाट पानी पिउने गरेका छन्।
तपाईंको परिवारमा खाना पकाउन कुन इन्धन प्रयोग गरिन्छ? बत्ती बाल्न के प्रयोग गरिन्छ? परिवारले प्रयोग गर्ने चर्पी कस्तो छ? परिवारमा सुविधा तथा साधन केके छन्?
यी प्रश्नको जवाफबाट गरिब र विपन्न परिवारको संख्याबारे जानकारी लिन सजिलो हुने केन्द्रीय तथ्यांक विभागको विश्वास छ। यसबाट सेवाहरुको उपभोग, जीवनशैली, स्वास्थ्यप्रतिको चेतनालगायतका विषयमा थाहा पाइनेछ।
मानव विकास प्रक्रिया कुन गतिमा अगाडि बढिरहेको भन्ने जानकारी पनि प्राप्त हुने जनगणना पुस्तिकामा उल्लेख छ।
महिलाका नाममा मुलुकका कुनै ठाउँमा घर वा जग्गा रहेको विषयमा पनि जवाफ खोजिनेछ।
परिवारले कृषिबाहेक कुन मुख्य साना घरेलु व्यवसाय चलाएको छ? दर्ता गरिएका वा नगरिएका? तलबी कामदार नभएका वा नभएका? व्यवसाय कसको नामबाट सञ्चालनमा छन्?
यी प्रश्नले गत वर्ष कोभिड १९ महामारीबाट परेको असरसमेत समेट्ने सम्भावना छ। २०६८ सालको जनगणनामा लगत सूचीमा मात्रै राखिएका यी प्रश्न यस वर्षको जनगणनाका लागि मुख्य प्रश्नावलीमै राखिएको विभागका अधिकारी बताउँछन्।
यो प्रश्नको उद्देश्य नेपालभरि अनौपचरिक रुपमा परिवारले सञ्चालन गरेका विभिन्न घरेलु तथा साना व्यवसायको संख्या पत्ता लगाउनु हो।
राष्ट्रिय जनगणना दुई चरणमा हुनेछ। पहिलो चरणमा आगामी २५ वैशाखदेखि १४ जेठसम्ममा हुनेछ।
पहिलो चरणको जनगणनामा सुपरीवेक्षकद्वारा घरघरमा पुगेर परिवारका सदस्य संख्या र परिवारको कृषिसम्बन्धी विवरण संकलन गरिनेछ।
जेठ २५ देखि असार ८ सम्म हुने दोस्रो चरणमा प्रश्नावली फाराममार्फत घरपारिवार, व्यक्तिको जनसांख्यिक तथा अन्य विवरण संकलन गरिनेछ।
त्यसपछि सुपरीवेक्षकबाट प्रत्येक स्थानीय तहका सबै वडामा वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत आधारभूत स्रोत, साधन, क्षमता र पूर्वाधार सम्बन्धी विवरण लिइने विभागका निर्देशक ढुण्डीराज लामिछाने बताउँछन्।
जनगणनाको प्रारम्भिक नतिजा आगामी असोज मसान्तभित्र सार्वजनिक गरिनेछ। अन्तिम नतिजा भने २०७९ वैशाख १ देखि २०८० भित्र प्रकाशन गरिने विभागको कार्यतालिका छ।