काठमाडौं– वर्षको अन्तिम कारोबार दिन मंगलबार सेयर बजारले नयाँ रेकर्ड बनाएको छ।
आज मंगलबार सेयर बजार परिसूचक (नेप्से) हालसम्मकै उच्च २७१४.७९ अंकमा अडिएको छ। यसदिन नेप्से २३.२३ अंकले उकालो लागेर रेकर्ड कायम गरेको थियो।
हिजो सोमबार सेयर बजार १७.२० अंकले बढेर २६९१.५५ अंकमा अडिएको थियो। यसदिन सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक उकालो लागेको छ।
बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समूहको परिसूचक ४२ अंकले उकालो लागेको छ भने विकास बैंक समूहको ९५.४२ अंकले उकालो लागेको छ। व्यापार समूहको परिसूचकमा ६९ अंकको सुधार देखिएको छ।
त्यस्तै जलविद्युत्, फाइनान्स र म्युचुअल फण्ड समूहका परिसूचक उकालो लागेको छ भने बीमा, होटल तथा पर्यटन, लघुवित्तलगायत समूहको परिसूचक ओरालो लागेको छ।
यसदिन ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य वृद्धि भएका कम्पनीहरुमा एनआईसी एशिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र छ्याङ्दी जलविद्युत् कम्पनी छन्। सबैभन्दा बढी गुमाउनेहरुमा सान्जेन जलविद्युत् आयोजना छ।
मंगलबार २१६ कम्पनीको ८० हजार ९५९ पटकको कारोबारमा ७ अर्ब ६१ करोड ८ लाख २८ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख २१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल बैंक छन्।