शनिबार, असोज १०, २०८३

तिलोत्तमाले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।

नगरस्तरीय कृषि व्यवसाय प्रवर्द्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५० रुपैंयाँ तोकेको हो। तिलोत्तमा नगरपालिकाले गत वर्षबाट गहुँको समर्थन मूल्य तोक्न थालेको थियो। 

गत वर्ष तिलोत्तमाले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार तोकेकोमा यस वर्ष १५० रुपैंयाँ बढाएको हो।
किसानले लागतअनुसारको लाभ प्राप्त गर्न नसकेको गुनासो किसानबाट आइरहँदा नगरपालिकाले गहुँको समर्थन मूल्य तोकेको कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए।

तोकिएको मूल्यमा कुनै किसानको गहुँ बिक्रि नभएमा त्यसको बजारीकरण गर्ने जिम्मा नगरपालिकाले लिने जनाइएको छ। नगर प्रमुख एवम् समितिका संयोजक बासुदेव घिमिरेले समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी हट्ने विश्वास व्यक्त गरे।

तिलोत्तमा नगरपालिकाले चालू आर्थिक वर्षमा १३२ मेट्रिक टन गहुँको बिऊ किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो। जनप्रतिनिधि आएदेखि नै तिलोत्तमाका किसानले अनुदानमा गहुँको बिऊ प्राप्त गर्दै आएका छन्। अनुदानमा उन्नत बिऊको उपलब्धतासँगै किसानहरुले बाँझो राख्ने खेतमासमेत पछिल्ला वर्षमा गहुँ खेती गर्ने क्रम बढेको कृषि शाखाले जनाएको छ।

यो वर्ष नगरपालिकाको २ हजार ७०१ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा झण्डै ८ हजार मेट्रिक टन उत्पादन हुने अपेक्षा गरिएको छ। यतिबेला नगरपालिकाको उत्तरी क्षेत्रका किसानले लगभग गहुँ खेती स्याहारीसकेका छन् भने दक्षिणी क्षेत्रका अधिकांश किसान गहुँ भित्र्याउने क्रममा छन्।

प्रकाशित: Apr 12, 2021| 13:16 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्