काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो ८ महिना फागुनसम्मको मूल्यवृद्धि दर ३.०२ प्रतिशत मात्रै रहेको जनाएको छ। सोमबार एक तथ्यांक सार्वजनिक गर्दै राष्ट्र बैंकले फागुनसम्ममा ३.०२ प्रतिशत मूल्यवृद्धि भएको बताएको हो।
राष्ट्र बैंकले खाद्य तथा पेय पदार्थको ३.८० प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फिति २.४१ प्रतिशत रहेको उल्लेख गरेको छ।
गत वर्ष फागुनको तुलनामा यस वर्ष घ्यू तथा तेलमा १९.९७ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै फलफुलमा १३.६७ प्रतिशत, सुर्तिजन्य वस्तुहरुको १०.४१ प्रतिशत र दाल तथा गेडागुडीमा १०.१७ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा २.५ प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशत मूल्य वृद्धि रहेको छ। गत वर्षमा काठमाडौं उपत्यकामा ७.६१ प्रतिशत, तराईमा ६.८४ प्रतिशत, पहाडमा ५.५३ प्रतिशत र हिमालमा ५.४२ प्रतिशत मूल्य वृद्धि रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको फागुनमा थोक मूल्यवृद्धि दर ६.३० प्रतिशत रहेको र सो मूल्यवृद्धि पनि गत वर्षको तुलनामा कम रहेको उल्लेख गरेको छ। गत वर्ष फागुनमा थोक मूल्यवृद्धि ६.५७ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।