काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि सरकारले अध्ययन सुरु गरेको बताएकी छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मुस्ताङमा रहेको स्याउ जोनका लागि स्याउका बिरुवा वितरण गर्ने कार्यको शुभारम्भ गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।
स्याउ जोन मुस्ताङले जिल्लाभित्रका किसानलाई स्याउका हाइब्रिड बिरुवा वितरण गर्ने कार्यक्रम सुरु गरेको छ। स्याउको नर्सरी बनाउनका लागि बजेट तथा कार्यक्रम स्वीकृत भइसकेकोले आगामी दिनमा स्याउ कृषकलाई बिरुवाको अभाव नहुने मन्त्री अर्यालले बताइन्। जोमसोममा स्याउका बिरुवा कृषकलाई हस्तान्तरण गरेर कृषिमन्त्री अर्यालले बिरुवा वितरण कार्यक्रमको शुभारम्भ गरेकी थिइन्।
स्याउ जोन जोमसोमले युरोपियन मुलुक इटालीबाट ल्याएर हाइ डेन्सिटी स्याउका बिरुवा वितरण गर्न लागेको स्याउ जोनका वरिष्ठ कृषि अधिकृत सुधीर थापाले बताए। ९ हजार २ सय ३० बिरुवा वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा सोमबार ६ हजार २ सय ४० बिरुवा वितरण गर्न लागिएको वरिष्ठ अधिकृत थापाले बताए।
जिल्लाभित्रका विभिन्न १५ वटा सहकारी तथा समूहले स्याउका बिरुवा माग गरेकोले स्याउ जोन मुस्ताङ मार्फत गोल्डेन डेलिसियस, गाला, फुजी र रेड डेलिसियस जातका बिरुवा ल्याएर वितरण गरिएको हो । नेपालमा बिरुवा उत्पादन नभएको हुनाले हाइ डेन्सिटी स्याउ एक मिटरको दूरीमा लगाउन मिल्ने र उत्पादन बढी दिने भएकाले पनि मुस्ताङमा यो स्याउ उत्कृष्ट हुने थापाले बताए।
संघीय सरकारको बजेट अनुरुप ५० प्रतिशत अनुदानमा वितरण गरिएको उक्त स्याउको बिरुवा जोमसोम आइपुग्दा प्रतिबोट एक हजार १ सय ७० रुपैयाँ खर्च लागेको छ।
संघीय सरकारको बजेटमा मुस्ताङ जिल्लाभित्र २ करोड ६० लाखमा स्याउको बिरुवा वितरण, नर्सरी, साना सिँचाइलगायतका कार्यक्रम सञ्चालन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत स्याउ जोन मुस्ताङका वरिष्ठ कृषि अधिकृत शुधिर थापाले बताए।