साहित्यकार घनश्याम पथिकको उपन्यास ‘छुई’ सार्वजनिक भएको छ। मण्डला नाटकघरमा आयोजना भएको लोकार्पण समारोहमा मनोज गजुरेल, ऋचा शर्मा र शृङ्खला खतिवडाले उपन्यास विमोचन गरेका हुन्।
रजस्वलालाई केन्द्र बनाएर लेखिएको उक्त उपन्यासमा रजस्वलाको पीडा र चलनलाई वर्णन गरिएको छ। उपन्यासकार पथिकको ‘छुई’ दोस्रो उपन्यास हो। यसभन्दा अगाडि उनको ‘युनिका’ उपन्यास प्रकाशित भएको थियो।
मनोज गजुरेलले सहजीकरण गरेको प्यानल डिस्क्सनमा शृङ्खला खतिवडा र ऋचा शर्माले आफ्नो धारणा व्यक्त गरेका थिए।
नेपाली चलचित्रमा कथाको खडेरी परिरहेको बेला अभिनेत्री ऋचा शर्माले ‘छुई’ उपन्यासमा चलचित्र बनाउन सकिने बताएकी छन्। शृङ्खला खतिवडाले भने महिलाको कुरा एक पुरुष लेखकले अत्यन्तै मिहिन ढङ्गमा प्रस्तुत गरिएको बताएकी छन्।
सरोज घिमिरेले सञ्चालन गरेकोे उक्त लोकार्पण समारोहमा पाठकको बाक्लो उपस्थिति रहेको थियो।
शिखा बुक्सले प्रकाशन गरेको यस उपन्यासलाई बजारको मूल्य ४२५ तोकिएको छ।