कञ्चनपुर- डाँका मुद्दाका फरार दोषी २७ वर्षपछि पक्राउ परेका छन्। कञ्चनपुर जिल्लाको साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार ५ वर्ष कैद र ६२ हजार ४१५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका सुनारलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।
नेपाल भारत सीमा क्षेत्रमा भारतीयको सहयोग लिई विसं २०३२ देखि सुनारले विभिन्न डकैतीका घटनामा संलग्न रहँदै आएका थिए। प्रहरी नायब उपरीक्षक थापाका अनुसार सुनार विसं २०४४, विसं २०४८ र विसं २०५० का डकैतीका घटनामा उनी संलग्न रहेका थिए।
सुनार डकैतीको कार्यमा संलग्न नाइकेका रुपमा रहेका थिए। -रासस