काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढले पनि चिन्ता नगर्न आग्रह गरेका छन्। शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
'वर्तमान सरकार केही महिनालाई तलमाथि परिहाल्यो भने पनि चिन्ता नगर्नुहोला,' महासंघको कार्यक्रममा सम्बोधन गर्दै उनले भने।
उनले उद्योगीहरूलाई आफ्नो काममा ध्यान दिन र राजनीतिको विषयमा चिन्ता नगर्न आग्रह गरेका थिए। 'तपाईहरूलाई म ढुक्कले काममा लाग्न आग्रह गर्छु। संसदीय अंकगणितलाई गलत प्रयोग गर्ने प्रयास बिलकुलै सकारात्मक छैनन्। यो तपाईंहरूको रुचिको विषय होइन। यी कुरालाई त मै ठेगान लगाइहाल्छु। तपाईंहरू आफ्नो काम गर्नुहोस्,' उनले भने।
उनले आफूलाई सरकार ढल्छ कि भन्ने चिन्ता नभएको उल्लेख गर्दै आफूलाई हटाउनेहरू पनि फ्याँकिने चेतावनी दिए। 'मलाई सरकार जान्छ कि भन्ने चिन्ता छैन। अहिले नै हटाइहाले भने पनि केही छैन। यस्तो अंकगणितलाईलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फ्याँकिनेछन्,' उनको भनाइ थियो।
उद्योगीहरूका समस्या सरकारले नजिकबाट नियालिरहेको उनको दाबी थियो।
नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारण सभाले राष्ट्रिय आर्थिक रूपान्तरण २०३० पुस्तक (भिजन पेपर) सार्वजनिक गरेको छ।
महासंघले एक दशकभित्र देशको अर्थतन्त्र एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने भिजन रहेको उल्लेख गरेको छ।